काठमाडौँ, साउन ३ । कोरोना संक्रमणका कारण दुई दिनमा दुई जनाले ज्यान गुमाएका छन् । करिब अढाई महिनामा कोरोना मृत्यु शून्य रहेकामा पछिल्लो दुई दिनमै संक्रमणका कारण दुई जनाको मृत्यु भएको हो । मृत्यु भएका संक्रमितमा दीर्घरोग पनि नभएको पाइएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु भएका दुवै जनाले कोरोनाविरुद्धको खोप लगाएका थिएनन् । यसअघि गत वैशाख २१ मा एक जनाको मृत्यु भएको थियो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबार मृत्यु भएकी ५६ वर्षीया महिला र सोमबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका ५७ वर्षीय पुरुषमा दीर्घरोगको समस्या नरहेको र दुवैले कोरोनाविरुद्ध खोप नलगाएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले बताए ।
नेपालमा कोरोनाको चौथो लहर प्रवेश गरेसँगै संक्रमणको ग्राफ उकालो लाग्दै गएको छ । सोमबार पीसीआर र एन्टिजेन गरी ४ हजार ६ सय ५१ नमुना परीक्षण गर्दा ९।८२ प्रतिशत अर्थात् ४ सय ५७ जनामा कोभिड संक्रमण देखिएको छ । हाल सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ७६ पुगेको छ । आइतबार ३ हजार ४१ कुल परीक्षणमा १ सय ३५ जना अर्थात् ४।४३ प्रतिशतमा संक्रमण पुष्टि भएकामा सोमबार दोब्बरले संक्रमण वृद्धि भएको हो । असार २८ गते संक्रमणदर ५।६६ रहेकामा साउन २ गते यो दर बढेर ९।८२ पुगेको छ ।
काठमाडौं उपत्यकामा पनि संक्रमितको संख्या बढ्दै गएको छ । आइतबार उपत्यकामा सक्रिय संक्रमितको संख्या ९ सय ९२ थियो । सोमबार काठमाडौंमा १ हजार १३, भक्तपुरमा २८ र ललितपुरमा ९२ जना गरी सक्रिय संक्रमितको संख्या १ हजार १ सय ३३ पुगेको छ । काठमाडौंमा ५ सयभन्दा बढी संक्रमित छन् । प्रदेश १ मा १ जना, वाग्मती प्रदेशमा १४ जना गरी १५ जना आईसीयू र वाग्मती प्रदेशकै एक जना भेन्टिलेटरमा छन ।
निकै संक्रामक मानिएको ओमिक्रोनको उपप्रजाति ‘बीए।५’ का कारण पनि संक्रमण तीव्र रूपमा फैलिरहेको विज्ञहरू बताउँछन् । यो भेरिएन्ट अहिलेसम्मकै कोरोना भेरिएन्टमध्ये छिटो फैलिने भनिएको छ । विज्ञहरूका अनुसार घाँटी दुख्ने, जीउ दुख्ने, थकित हुने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, ज्वरो आउने, गन्ध र स्वाद थाहा नपाउने, पसिना आउनेलगायत बीए।५ का लक्षण हुन सक्छन्, जुन फ्लुसँग पनि मिल्दोजुल्दो छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिट संयोजक डा। शेरबहादुर पुनले बीए।५ भेरिएन्टलाई ‘अल्ट्राफास्ट भेरिएन्ट’ भन्न सकिने बताए ।
तर, दीर्घरोगी र खोप लगाएका बूढापाका वा अन्यमा संक्रमणका कारण कस्तो जटिलता देखिन सक्छ भन्नेमा सरकारी स्वास्थ्य अधिकारीहरू नै प्रस्ट छैनन् । दीर्घरोगी, बूढापाका र खोप लगाएकाले पनि विशेष स्वास्थ्य सावधानी अपनाउन उनीहरूको सुझाव छ ।
सोमबारसम्म कुल जनसंख्याको ७०।१ प्रतिशत अर्थात् २ करोड ४ लाख ६४ हजार ६ सय ३९ जनाले पूर्ण खोप लिएका छन् । ७०।४ प्रतिशत अर्थात् २ करोड ५ लाख ४८ हजार ४ सय ९४ जनाले एक मात्रा र २३।७२ प्रतिशत अर्थात् ६९ लाख २४ हजार ६ सय २१ जनाले अतिरिक्त खोप लिएका छन । सरकारले हाल ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि खोप दिइरहेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com