भदौ, २६ । चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु नेपाल भ्रमणका लागि काठमाण्डौ आएका छन् । चार दिने भ्रमणको लागि ली साढे ३ बजे त्रिभुवन विभानस्तलमा अवतरण गरेका हुन् । चिनियाँ विशेष विमानबाट करिब एक सय जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणमा आएका चान्सुलाई सभामुख सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका छन् ।
कार्यसूचीअनुसार सभामुख सापकोटासँग द्विपक्षीय भेटघाट हुने कार्यक्रम रहेको छ । परराष्ट्र स्रोतका अनुसार द्विपक्षीय भेटघाटका क्रममा दुई देशबीच संसदीय तहमा सहकार्य गर्ने विषयमा हस्ताक्षरसमेत हुनेछ । द्विपक्षीय भेटमा सबै दलका प्रमुख सचेतक, सचेतक र नेपाल–चीनमैत्री संसदीय समूहको टोलीका सदस्यसमेत रहने सभामुखको सचिवालयले जनाएको छ । भेटपछि सभामुख सापकोटाले समकक्षी चान्सुका लागि उनी बसेकै होटल सोल्टीमा रात्रिभोजको आयोजना गरेका छन् ।
भ्रमणको दोस्रो दिन बिहान ९ बजे चान्सुले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनासँग संसद भवन नयाँ बानेश्वरमा मा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनले संसद भवनमा नै नेकपा एमाले अध्यक्ष केपी आली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् ।
उक्त भेटवार्तापछि होटल सोल्टीमा दिउँसो ३ बजेदेखि परराष्ट्रमन्त्री नारायण खड्कासँग उनको भेटवार्ता हुने तय भएको छ । परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता भएपछि चान्सु प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न अपरान्ह ४ बालुवाटार पुग्ने कार्यक्रम बनेको छ ।
भ्रमणको तेस्रो दिन अध्यक्ष चान्सु बुधबार बिहान भक्तपुर भ्रमण गर्नेछ । त्यसपछि सोही दिन अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनको भेट हुनेछ । राष्ट्रपतिसँगको भेटपछि संसद भवनमा समकक्षी सापकोटासँगको भेट गर्ने कार्यक्रम रहेको छ ।
बिहीबार बिहान चिनियाँ जनकंग्रेस अध्यक्ष चान्सु नेतृत्वको प्रतिनिधिमण्डल दक्षिण कोरिया प्रस्थान गर्नेछ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com