काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको जनाएको छ । भोलि बिहिबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा निर्वाचनका लागि मतदान केन्द्र तयार पारिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । बिहिबार बिहान १० बजेदेखि ३ बजेसम्म मतदान कार्यक्रम रहेको छ । संसद भवनको ल्होत्से हलमा २ वटा मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्रमा संघका सांसदहरुले मतदान गर्नेछन् भने अर्को मतदान केन्द्रमा प्रदेश तर्फका सांसदले मतदान गर्नेछन् । राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रदेश तर्फका ८ सय ४२ सांसदले मतदान गर्नेछन् । आयोगले निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र बानेश्वर पठाइसकेको छ ।
मतदाताले मतपत्रमा स्वस्तिक छाप लगाएर मतदान गर्नुपर्नेछ । मतदान सम्पन्न भएपछि भोलि नै ४ बजेदेखि मतगणना सुरु गरेर साँझ ७ बजेसम्म परिणाम घोषणा गर्ने तयारी छ । निर्वाचन आचार संहिताका कारण गए रातिदेखि चुनाव प्रचार प्रसारको गर्न रोक लागेको छ ।
राष्ट्रपतिको निर्वाचनका लागि सत्ता गठबन्धन ८ दलको समर्थन र सहयोगमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् भने उनका प्रतिस्पर्धीका रुपमा एमालेको तर्फबाट पार्टीका उपाध्यक्ष समेत रहेका सुवास नेम्वाङ उम्मेदवार रहेका छन् । निर्वाचनमा आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा गरिसकेको र अब मतदानको समयको प्रतिक्षामा रहेको आयोगले बताएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com