साउन २७ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले स्थानीय स्तरमा उत्पादन हुने तरकारी तथा बाली (रैथाने उत्पादन)लाई बजारीकरण गर्न विशेष जोड दिएको छ । कृषकले उत्पादन गरेको बस्तुलाई संकलन गरि काठमाडौँमा ल्याई विक्री वितरण गर्ने प्रवन्ध गाउँपालिकाले गरेको छ ।
रैथाने उत्पादनलाई थप व्यवसायीक बनाउने र बजारको समेत व्यवस्थापन गर्ने हेतुले थुलुङ दुधकोशी गाउँपालिकाले रैथाने एग्रो प्रडक्टस् नेपालसंग सम्झौता ज्ञापन पत्र (एमओयू) गरेको छ । शनिबार काठमाडौँको दरवारमार्गस्थित ओरियन्ट क्याफेमा आयोजिक कार्यक्रममा दुई पक्षबीच सम्झौता भएको हो । गाउँपालिका अध्यक्ष असिम राई र रैथाने एग्रो प्रडक्टस् नेपालका अध्यक्ष तिलक ढकालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार रैथाने एग्रो प्रडक्टस् नेपालले थुलुङदुधकोशी गाउँपालिकामा स्थानीयस्तरमा उत्पादन हुने आलु लगायत विभिन्न तरकारी तथा नगदेबालीहरुको वृहत उत्पादनमा कृषकहरुलाई तालिम तथा प्रशिक्षण प्रदान गर्नेछ । उत्पादित बस्तुलाई बजारीकरणका लागि गाउँपालिकासंग समन्वय गर्ने, त्यहाँ उत्पादित बस्तुहरु खरिद गरि विक्री वितरण गर्ने जस्ता कार्य पनि दुई पक्ष बीच भएको सम्झौतामा उल्लेख छ ।
थुलुङदुधकोशी गाउँपालिकाको उत्पादन दरवारमार्गकै ओरियन्ट क्याफेमा हाट बजारको रुपमा विक्रीमा राखिएको छ । हरेक शनिबार विहान ६ बजे देखि १२ बजेसम्म क्याफेको हलमा बजार लाग्नेछ । जहाँ आलु, सागसब्जीदेखि रैथाने गेडागुडी, दाल, अचार, सातु, पीठोहरु उपलब्ध छन् । गाउँपालिकाले कृषकसंग संकलन गरि काठमाडौँ ल्याएर रैथाने एग्रो प्रडक्टस् नेपालसंग विक्री गर्दै आएको छ । ढुवानी खर्च गाउापालिकाले नै व्यहोर्ने भएकाले सोलुकै मुल्यमा (खुला बजारभन्दा सस्तो) विक्री भइरहेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आयातित विषादीयुक्त बस्तुहरु हाम्रो भान्छामा पुगेका छन्, त्यसले मानिसको स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको छ । त्यसैले रैथाने बालीको उत्पादन बढाउँदै कृषकलाई बजारको अभाव हुन नदिन गाउँपालिकाले नै ढुवानी गरि काठमाडौँमा विक्री सुरु गरिएको छ । शहरका सचेत उपभोक्ताले रैथाने बालीलाई अत्याधिक रुचाएका छन् । हामी थप बजारीकरण गर्नेछौँ । र उत्पादन पनि बढाउँदैछौँ ।’
कार्यक्रममो बोल्दै रैथाने एग्रो प्रडक्टस् नेपालका अध्यक्ष तिलक ढकालले स्थानीय तहले रैथाने उत्पादनलाई यति धेरै महत्व दिएकोमा थुलुङदुधकोशी गाउँपालिकालाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँदे भन्नुभयो, ‘हरेक स्थानीय तहले रैथाने उत्पादनलाई यसैगरी प्राथमिकता दिएर उत्पादनमा वृद्धि गर्ने हो भने भारतीय बजारलालई विस्थापित गर्दै अर्गानिक खानपानलाई बढवा दिन सकिने बताउनुभयो ।’
हाट बजारमा उपभोक्ताहरुले हिमाली क्षेत्रमा फलेको आलु तथा सागसब्जी अत्याधिक रुचाएका छन् । गाउँको कृषि उपजलाई काठमाडौँसम्म ढुवानीका लागि थुलुङदुधकोशीले कृषि एम्बुलेन्स नै खरिद गरेको छ । उक्त सवारी साधनले कृषकको घरघरमै गएर कृषकको उत्पादन संकलन गरि काठमाडौँ ल्याउने गरेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com