साउन, ३१ । युवा जनशक्तिलाई देशभित्रै उद्यमशिल बनाउने सन्दर्भमा नेपाल सरकारको अर्थमन्त्रीसहित अर्थविद्हरुको उपस्थितिमा काठमाडौँमा वृहत “उद्यमशीलता प्रेरणा सम्मेलन” गरिएको छ । राष्ट्र निर्माण मञ्च नेपाल र “उद्यमशिल युवा सिर्जनशिल युवा” राष्ट्रिय अभियानको आयोजनामा दुई सय भन्दा बढि युवाहरु भेला गरि नेपालमै युवाहरुको उद्यमशिलताका सम्भावना र आवश्यक योजनाहरुका बारेमा छलफल भएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्र अथाह अवसर रहेको भन्दै सदुपयोग गर्न युवाहरुसँग आग्रह गर्नुभयो । उहाँले उद्यमशीलता विकासको अवसर विदेशमा भन्दा स्वदेशमै रहेकोले युवाहरुले विदेश जाने होडबाजीमा लाग्न नहुने बताउनुभयो । युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउने अभिप्रायले विना धितो ऋण प्रवाहका लागि सरकारले योजना ल्याएको जानकारी समेत दिनुभयो । बुधबार इन्टरप्रेनसिप मोटिभेसन कन्क्लेभमा मन्त्री महतले विदेश जानेवित्तिकै सबै कुरा प्राप्त हुन्छ भन्ने मानसिकता त्याग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले उद्यमशीलता प्रवर्द्धनका लागि सरकारले लिएका नीतिको लाभ युवाले पाउन नसकेको बताउनुभयो । सरकारले राम्रो योजना ल्याइरहेपनि कार्यान्वयन तहमा युवाहरुले लाभ लिन नसकेको बताउनभयो । त्यसका लागि सरकारले कार्यान्वयतको पक्षलाई सुष्म रुपमा सुधार गर्न जरुरी रहेको टिप्पणी गर्नुभयो ।
त्यस्तै, अर्थविद् डा. अच्युत वाग्लेले मुलुक थप आर्थिक संकट तर्फ उन्मुख भइरहेका बेला सरकारले युवाहरुलाई अधिकतम उपयोग गरि उद्यमी बनाउनु पर्ने र उपभोग्य वस्तुहरुको उत्पादनमा युवाहरुलाई क्रियाशिल बनाउनु पर्ने बताउनभयो ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले युवालक्षित उद्यमशीलता कार्यक्रमका लागि बैंकिङ क्षेत्रले १० प्रकारका सहुलियतपूर्ण कर्जा उपलब्ध गराइरहेको जानकारी दिनुभयो ।
यस्तै उद्योग बाणिज्य महासंघका उपाध्यक्ष एवं उद्योगी ज्योत्सना श्रेष्ठले बेरोजगार युवाहरुको चाहनालाई राज्यले पहिचान गर्न नसकेकाले सरकारको योजना र युवाहरुको रहरबीच मेल नखाएको बताउनभयो । उद्योगीहरुलाई हेर्ने सरकारी नजरमै सुधार हुन जरुरी रहेको उहाँको टिप्पणी छ ।
उपस्थित युवाहरुलाई लघु उद्यमी बन्नका लागि प्रोत्साहित गर्दै प्रशिक्षक रञ्जित आचार्यले आफू भित्रको क्षमतलाई पहिचान गर्न आग्रह गर्नुभयो । अरुको देखासिकिमा लाग्दा कहिल्यै सफल नहुने भन्दै आफ्नो क्षमतामा विश्वास गर्न सुझाव दिनुभयो ।
कार्यक्रमलाई तीन चरणमा संचालन गर्दै उद्यमी, युवा नेतृत्व र युवा विद्यार्थीहरुबीच उद्यमशिलताका बारेमा चर्चा गरिएको थियो । कार्यक्रमको संयोजन गर्नुभएका युवा नेता भूपेन्द्रजंग शाहीले यस्ता कार्यक्रम आजको अपरिहार्य विषय भएको टिप्पणी गर्नुभयो । युवाहरलाई विदेश पलायन हुन रोक्नका लागि देशभित्रै उद्यमशिलताको प्रत्याभूत गराउनु पर्ने भएकाले सरोकारवालाहरुबीच घनिभूत छलफलका लागि कार्यक्रमको आयोजना गरिएको बताउनभयो ।
अहिले बर्षेनी युवाहरुको विदेश पलायन दर उच्च छ । रोजगारी र अध्ययनको शिलशिलामा दैनिक २४ सय युवाहरु परदेशिरहेको तथ्यांकले देखाएको छ । यही अवस्थामा कायम रहे आगामी १३ वर्षमा देशमा युवाहरुको बसाई सुन्यमा पुग्ने कार्यक्रममा बताइएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com