कार्तिक, २१ । यसपटक भारतमा नेपाली चियाको विक्री पोहोर साल भन्दा तीव्र गतिमा भइरहेको भन्दै व्यवसायीहरूले अहिलेकै परिस्थिति कायम रहे नेपालमा उत्पादन हुने झन्डै ७५ प्रतिशत सीटीसी चिया भारतमा निर्यात हुनसक्ने आशा व्यक्त गरेका छन् ।
भन्सार विभागका अनुसार यो आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालबाट भारतमा ६२ लाख ६१ हजार केजी भन्दा बढी सीटीसी चिया निर्यात भएको छ। त्यसबापत नेपालले १ अर्ब ६३ करोड रुपियाँ भन्दा बढी आम्दानी गरेको थियो। अघिल्लो वर्ष तीन महिनाको अवधिमा ४७ लाख केजी सीटीसी चिया भारतलाई विक्री गर्दा नेपालले १ अर्ब १० करोड रुपियाँ जति आम्दानी गरेको थियो । भारतमा चियाको उत्पादन यो साल घटेकाले नेपाली चियाको माग बढेको र त्यसले भारतीय बजारमा डेढ गुणा बढीसम्म मूल्य पाइरहेको अधिकारीहरू बताउँछन् ।
तथ्याङ्कले के देखाउँछ ?
नेपालमा झन्डै २४ हजार हेक्टरमा चिया खेती हुने गरेको छ। त्यसमध्ये सबैभन्दा धेरै उत्पादन झापा र इलाम जिल्लामा हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको एउटा तथ्याङ्कले देखाउँछ। सीटीसी, अर्डक्स र ग्रीन टीसहित नेपालमा वर्षेनी २ करोड केजी भन्दा बढी चिया उत्पादन हुन्छ। त्यसको ठूलो हिस्सा भारतमा विक्री हुने गरेको छ। अधिकारीहरू नेपालमा उत्पादित सीटीसी चियामध्ये लगभग ५० प्रतिशत र अर्थडक्स चियामध्ये लगभग ९० प्रतिशत भारतमा आपूर्ति हुने गरेको बताउँछन्।
अघिल्लो आर्थिक वर्षमा नेपालले १ करोड ३३ लाख केजी सीटीसी चिया भारतमा विक्री गरेको थियो। त्यसबापत नेपाली चिया निर्यातकर्ताहरूले ३ अर्ब ८ करोड रुपियाँ आम्दानी गरेका थिए। उक्त अवधिमा झन्डै ३० हजार केजी ग्रीन टी नेपालबाट भारत पुगेको थियो। त्यसबापत नेपाली पक्षले झन्डै १२ करोड रुपियाँ आम्दानी गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ।
तर यस आर्थिक वर्षको पहिलो तीन महिनामा नै भारतीय बजारमा नेपाली चियाको माग उल्लेख्य रूपमा बढेको आँकडाहरूले देखाउँछ। पहिलो तीन महिनामा नेपालले १ अर्ब ६३ करोड रुपियाँ भन्दा बढीको ग्रीन टी र सीटीसी चिया भारतमा निर्यात गरेको थियो। भन्सार विभागले असोज मसान्तसम्मको आँकडामा एक वर्षमा भएको कुल आम्दानीमध्ये झन्डै आधा तीन महिनामा नै भइसकेको विवरण राखेपछि यो वर्ष व्यापार अझ बढ्नसक्ने अधिकारी तथा व्यवसायीहरूले ठानिरहेका छन्। bbc
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com