मंसीर । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको सोमबार खेलिएको पहिलो खेलमा चितवन राइनोज विजयी भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा चितवन रनाइनोजले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हराएको हो । जारी प्रतियोगितामा चितवन राइनोज र काठमाडौँ गुर्खाज दुवैले आफ्नो पहिलो खेल खेलेका हुन् । टस हारी पहिले ब्याटिङको निम्तो पाएको काठमाडौँ गुर्खाजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ११ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको चितवन राइनोजले भने १७।१ ओभरमै केवल पाँच विकेट गुमाएर एक सय १४ रन बनाउँदै विजयलक्ष्य पार गर्यो । चितवन राइनोजका लागि छैटौँ नम्बरका ब्याट्सम्यान सन्तोष कार्कीले अविजित २८ रनको योगदान गरे । सन्तोषले ३१ बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काए । सातौँ नम्बरमा क्रिज समाल्न आएका अनुभवी ब्याट्सम्यान शरद भेषावकरले पनि २१ बलको सामना गरी अविजित ११ रन बनाएका थिए ।
लुक बेनकेन्स्टाइनले पनि टोलीका लागि २२ रनको योगदान गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले १७ बलमा दुई छक्का र एक चौका प्रहार गरे । ओपनर ब्याट्सम्यान हसन इशाखिलले पनि १२ रन बटुले ।
कप्तान कुशल मल्ल ११ रन बनाउँदै पेभेलियन फर्किए । ओपनर दीपक बोहराले सात रन बनाए । रवि बोपारा पनि ११ रन बनाउँदै आउट भए । उनले साहब आलमको बलमा लगातार दुई चौका प्रहार गरे भने तेस्रो बलमा आउट भए । चितवन राइनोजले अतिरिक्त रूपमा १२ रन पायो । काठमाडौँ गुर्खाजका बलर साहब आलमले तीन विकेट लिए । उनले चार ओभरमा २० रन खर्चिए । जेरहार्ड एरास्मस र डन डउथवेटले पनि एक–एक विकेट हात पारे ।
त्यसअघि काठमाडौँ गुर्खाजनका ब्याट्सम्यानहरूले गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । ओपनर ब्याट्सम्यान माइकल लेभिटले २५ रनको योगदान गरे । उनले १६ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए । नेपाल क्रिकेट संघ क्यानले पहिलो पटक आयोजना गरेको एनपीएलमा सोमबारको दोस्रो खेल जनकपुर बोल्ट्स र कर्णाली याक्सबिच खेलिने छ । जारी प्रतियोगितामा जनकपुर बोल्ट्सले दोस्रो र कर्णाली याक्सले पहिलो खेल खेल्न लागेका हुन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com