
काठमाडौँ । आज विहान करिब ११ बजे काठमाडौँ प्रहरीको हटलाइन नम्बर १०० मा अज्ञात व्यक्तिबाट आएको फोनले कालीमाटि क्षेत्रका तीन वटा विद्यालयमा बम फिट गरिएको दाबी गरेपछि प्रहरीले उच्च सतर्कता अपनाएको छ।
फोनमार्फत उक्त व्यक्तिले कुलेश्वर माध्यमिक विद्यालय, जनमैत्री क्याम्पस र कलंकीस्थित एडमार्क स्कुलमा बम राखेको र दिउँसो ४ बजेसम्म डिस्पोज गर्न निर्देशन दिएको थियो। अन्यथा ठूलो अनिष्ट हुने चेतावनीसहित आएको उक्त सूचनापछि जिल्ला प्रहरी परिसर काठमाडौँ र अपराध अनुसन्धान कार्यालयको टोली तत्कालै उच्च सतर्कतामा खटियो।
कालिमाटी प्रहरी वृत्तका डिएसपी मधु थापाको नेतृत्वमा प्रहरी टोली पहिलो विद्यालय कुलेश्वरमा पुगेको थियो। विद्यालयमा विद्यार्थीहरु नियमित पढाइमै व्यस्त रहेको र कुनै शंकास्पद वस्तु नभेटिएपछि टोली जनमैत्री क्याम्पस र त्यसपछि एडमार्क स्कुलतर्फ लाग्यो। तीनै स्थानमा सूक्ष्म खोजतलास गर्दा कुनै पनि विस्फोटक पदार्थ वा शंकास्पद वस्तु फेला नपरेपछि सूचना झुटो भएको पुष्टि भएको हो।
विद्यालय र क्याम्पस सञ्चालकहरुले अहिले भर्ना अभियान र चाडपर्व नजिकिँदै गरेको अवस्थालाई लक्षित गर्दै केही व्यक्तिहरुले चन्दा असुल्नका लागि यस्तो हल्ला फैलाएको हुनसक्ने बताएका छन्। उनीहरुका अनुसार विभिन्न समूहले धम्कीपूर्ण फोन गर्दै आएको भए पनि रकम नदिँदा यसरी डराउने प्रयास भएको देखिन्छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहोराले गलत सूचना दिने व्यक्तिको पहिचान भइसकेको र छिट्टै पक्राउ गरिने जानकारी दिएका छन्। उनका अनुसार, “प्रहरीको सतर्कता र तत्कालीन एक्शनले तीनै विद्यालयमा फैलिएको डर हटाउन सफल भएको छ। यस्ता भ्रमपूर्ण सूचनाले विद्यार्थी, शिक्षक र अभिभावकमा अनावश्यक त्रास फैलाउँछन्, त्यसैले कडाइका साथ कानूनी कारबाही हुन्छ।”

White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com