
सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले उपभोक्ता समितिसँग गरिने योजना सम्झौता र बैंक खाता सञ्चालन कार्य अब प्रत्येक वडामै उपलब्ध गराउने निर्णय लिएपछि स्थानीयवासी सहज र खुशीयाली बनेका छन्।
पहिले गाउँपालिका कार्यालय धाउनुपर्दा उपभोक्ता समितिका सदस्यहरू समय, खर्च र कागजात अभावको झन्झटमा परिरहन्थे। कहिलेकाहीँ कागजात नपुगेको भन्दै सम्झौता नै नभई फर्किनुपर्ने अवस्था पनि आइसकेको थियो। तर यसपालि सेवामै वडामा पुगेपछि स्थानीयले “गाउँकै सरकार, जनताको ढोकामा सेवा” को अनुभूति पाएका छन्।
उपभोक्ताहरूले गाउँमै सेवा उपलब्ध गराउने प्रथाले समय, खर्च र प्रशासनिक झन्झट घटेको भन्दै खुलेरै प्रशंसा गरेका छन्। वडातहमा सेवा विस्तार भएपछि संघीयता कार्यान्वयनको वास्तविक प्रभाव जनताले पहिलोपटक महसुस भएको स्थानीयवासीहरू बताउँछन्।
गाउँपालिकाले सबै वडामा प्रमुख प्रशासकीय अधिकृत गौरवराज केसीको नेतृत्वमा कर्मचारी टिम खटाई योजना सम्झौता, अभिमुखिकरण तथा सम्पूर्ण प्रक्रिया वडाबाटै पूरा गरिरहेको छ। यसले उपभोक्ता समितिहरूमा सुशासन र पारदर्शिताको अनुभूति थप मजबुत हुने प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिए।
आर्थिक वर्ष २०८२/८३ का स्वीकृत कार्यक्रमअन्तर्गत उपभोक्ता समिति मार्फत कार्यान्वयन गरिने योजनाको सम्झौता प्रक्रिया क्रमिक रूपमा अघि बढाइरहेको गाउँपालिकाले जनाएको छ।
सम्झौता सम्पन्न भएपछि उपभोक्ता समितिको बैंक खाता पनि फिल्डमै खोली दिने व्यवस्था मिलाइएको छ। अभिमुखिकरणदेखि बैंक सेवासम्म एकै दिन गाउँमै पाउँदा स्थानीय अत्यन्तै उत्साहित देखिएका छन्।
गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोका अनुसार सिंहदरबारका अधिकार जनताको घरैमा पुर्याउने उद्देश्यले १ दिने विशेष सेवा कार्यक्रम सञ्चालन गरिएको हो। “जनतालाई सहज, सरल र पहुँचयुक्त सेवा दिने हाम्रो प्राथमिकता हो,” अध्यक्ष स्याङ्बोले बताए।
जुगल गाउँपालिकाको यस पहलले स्थानीय शासनलाई जनमैत्री र पहुँचयोग्य बनाएको भन्दै उपभोक्ता समितिहरूले स्वागत गरेका छन्।

White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com