भदौ, २४ । श्रीलंकामा भइरहेको साफ यू–१७ च्याम्पियनसिपको समूह चरणमा नेपालले भारतलाई हराएको छ ।
आज भएको खेलमा नेपालले भारतमाथि ३–१ गोलको जित निकाल्यो । नेपालले सुरुमा गोल खाए पनि त्यसपछि तीन गोल गरेको थियो । जितसँगै नेपाल समूह ‘बी’ को विजेता बन्यो। नेपाल र भारतले भुटानलाई पराजित गर्दै यसअघि नै सेमिफाइनलमा स्थान बनाएका थिए ।
नेपालले पहिलो खेलमा भुटानलाई २–१ गोलले हराउँदा भारतले ३–० गोलको जित निकालेको थियो । नेपालसँग पराजित भएको भारत भने समूह उपविजेता बन्दै अन्तिम चारमा पुग्यो ।
आज भारतले नेपालविरुद्ध पहिले अग्रता लियो । भारतका लागि खेलको १७ मिनेटमा ड्यानी लैस्रमले गोल गरेका थिए । नेपालका लागि सरोज दर्लामीले ४५ मिनेटमा बराबरी गोल फर्काए । उनले डिबक्स बाहिरबाट हानेको प्रहारले जाली चुमेको थियो । ४९ मिनेटमा उनेश बुढाथोकीले नेपालका लागि दोस्रो गोल गरे । यस्तै खेलको ६८ मिनेटमा सुवास बमले उत्कृष्ट फिनिसिङ गर्दा नेपालले अग्रता ३–१ मा पु¥यायो ।
अब नेपालले सेमिफाइनलमा सोमबार श्रीलंका वा माल्दिभ्स मध्ये एक टिमसँग खेल्नेछ। जित हात पारे नेपालले बुधबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । यता समूहमा उपविजेता बनेको भारतले भने सेमिफाइनलमा सोमबार नै समूह ‘ए’ को विजेता बंगलादेशसँग खेल्नेछ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com