भदौ, २६ । नेपाली समाजमा एउटा मान्यता छ, ‘आफन्तले साथ छाड्छ तर कुकुरले छाड्दैन ।’ मालिकलाई बचाउन आफ्नो ज्यान नै दिएका दृष्टान्तहरुले पनि यो बफादार प्राणीको गुनगान गाएर कहिल्यै थाक्दैन, हाम्रो समाज ।
भर्खरैको एउटा घटनाले यसलाई थप पुष्टि गरेको छ । घटना कैलालीको लम्कीचुहा नगरपालिका–५ को हो । त्यहाँका चुकुलाल चौधरीले आठ वर्षअघि एउटा बेवारिसे कुकुरको छाउरो घरमा ल्याएका थिए । उनले कुकुरको नाम राखिदिए, सफी । सफीलाई उनकै आमा हैरानी चौधरीले स्याहारसुसार गरेर हुर्काइन् ।
कुकुरसँग उनको सम्बन्ध आफ्ना सन्तानजस्तै प्रगाढ बन्यो । चौधरीले आफ्नै कोखका बालबच्चा झैं सफीलाई माया दिए । उनीहरु सँगै बस्ने, खाने गर्थे । हैरानी चौधरीले जता गए पनि कुकुरलाई छाड्दैन थिई । तर भदौ २५ गते शनिबार हैरानी चौधरीको क्यान्सरले निधन भयो ।
जसै हैरानी चौधरीको शव घरमा राखियो, सफीले उनको साथ छाडेन । सामान्यतः मृत्यु संस्कारमा कुकुर–बिरालोलाई शव छुन दिइँदैन । हैरानीको शवको छेउछाउ आएपछि मलामीका लागि आएका छिमेकीले उनलाई धपाउन थाले ।
परम्परा अनुसार चौधरीको शवलाई उनी सुतेकै पलङमा राख्ने तयारी भयो । तर शव राख्नुअघि नै उक्त कुकुर पलङमा बसिदियो । छिमेकीले कुकुरलाई त्यहाँबाट पनि लखेट्न खोजे । कुकुर कसैगरी पनि त्यहाँबाट भागेन । आखिरमा कुकुरलाई समातेर नजिकैको रुखमा साङ्लोले बाँधियो ।
‘रुखमा बाँधेपछि झन् उग्र भयो । साङ्ला नै चुडाउँला झैं गरेर कराउन थाल्यो,’ हैरानी चौधरीका कान्छो छोरा अनन्तलाल भन्छन्, ‘पलङमा राखेर गरिने संस्कार सकेर शवलाई ट्याक्टरमा चढाइयो । अनि घाटतिर लाग्यौं । तर केही पर नपुग्दै कुकुर साङ्लाबाट फुत्किएर दौडिंदै हामीलाई पछ्याउन थाल्यो ।’
ट्याक्टर पछ्याउँदै सफी करिब पाँच किलोमिटरसम्म दौडिरह्यो । मुख्य सडकमा अरु गाडी पनि कुदिरहेको थियो । तर सफीले सोही ट्रकलाई मात्र एकोहोरो पछ्याइरह्यो ।
तराईको चर्को गर्मी । त्यतिका समय कुकुर दौडिएको दौडिएकै छ । कुनै मलामीले कुकुरलाई पनि ट्याक्टरमै राख्न भने । ट्याक्टरमा चढाएपछि उक्त कुकुर हैरानी चौधरीकै शवको छेउमा बसिरह्यो ।
‘बेलाबेला शवलाई सुँघेर क्याउँक्याउँ गर्दै कराउँथ्यो,’ अनन्तलाल भन्छन्, ‘हामीलाई भन्दा बढी पीर त उसलाई परेको जस्तो देखिन्थ्यो ।’
कर्णालीको घाटमा पु¥याएपछि चिता तयार गरियो । शवलाई चितामा राखियो । तर कुकुर पनि चितामा चढ्यो र शवसँगै लमतन्न परेर बसिरह्यो । कुकुरलाई हटाउँदा चिता भत्कियो । दाउराले कुकुरलाई चोट लाग्यो । तर ऊ पछि हटेन । ‘चितामा बसेपछि मलामी पनि भावुक भए,’ अनन्तलाल सुनाउँछन्, ‘शव जलाउन समस्या भएपछि उसलाई समातेर राख्यौं ।’
शव जलिसकेपछि पनि कुकुर चिता वरिपरि घुमिरहेको थियो । सफी नामको उक्त कुकुरले शवको पछि लागेको र चितामा बसेको भिडियो टिकटकमा अहिले भाइरल भएको छ । उक्त कुकुरले दर्शाएको प्रेमप्रति विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।
कतिले टिकटक बनाउनका लागि पो कुकुरलाई सुताएर यस्तो भिडियो खिचेको हो कि भनेर शंका गरेका छन् । यद्यपि हैरानी चौधरीका छोरा अनन्तलाल भने यो कुनै नाटकीय घटना नभई कुकुरले वास्तवमै शवलाई पछ्याएको र चितामा बसेको बताउँछन् ।
– अनलाइनखबर
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com