मंसीर, २६ । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीलाई छुटाउन भन्दै सरकारले अध्यादेश ल्याउने सरकारले निर्णय गरेसँगै चौतर्फि आलोचना भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले काम चलाउ सरकार रहेको अवस्थामा यस्तो कदम चाल्नु मुलुकको हित विपरित भएको टिप्पणी हुन थालेको छ ।
राजनीतिक विश्लेषक विष्णु दाहालले सत्ता जोडघटाउको खेलले अध्यादेश ल्याउन लागिएको बताए । उनले भने, ‘अहिले सरकार गठनका लागि बहुमत जुटाउन अध्यादेश ल्याउन खोजेको देखिन्छ, यो व्यवस्था माथिको नै घात हो ।’
अध्यादेश जारी भए काँग्रेस नेतृत्वको सरकार बन्ने दाहालको विश्लेषण छ । यदी अध्यादेश संशोधन भएर जारी नभए काँग्रेसलाई एमालेसँग मिलेर सरकार बनाउने बाटो खुल्ने दाहालको बुझाई छ ।
सरकारले आइतबारको मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश जारी गर्ने तयारी गरेको हो । मुलुकी अपराध संहिता ऐनको दफा ११६ (१) मा नकारात्मक सूचीमा रहेका मुद्दा फिर्ता लिन नहुने उल्लेख छ । दफा ११६ (२) मा ‘अमानवीय तवरले वा नियन्त्रणमा लिई ज्यान मारेको’ लगायतका मुद्दा फिर्ता लिन नमिल्ने व्यवस्था छ । चौधरीमाथि टीकापुर घटनामा अमानवीय तवरले वा नियन्त्रणमा लिई ज्यान मारेको आरोप छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com