चैत, १० । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन सञ्चारमाध्यमको विश्वसनीयता घट्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले संख्या मात्र बढेको तर पत्रकारिता बाहेकका पृष्ठभूमि र अध्ययनबाट अनलाइन दर्ताको बाढी देखिएकाले गुणस्तरीयता र विश्वसनीयतामा सबैको ध्यान पुग्नुपर्नेमा जोड दिए । उनले प्रेस काउन्सिलबाट एक वर्षदेखि विभिन्न पृष्ठभूमिबाट आएका अनलाइन सञ्चालक र सम्पादकलाई नियमित अभिमुखिकरण कक्षा हुँदै आएको र यसलाई निरन्तरता दिने जानकारी दिए ।
शुक्रबारको अभिमुखीकरण कार्यक्रममा बोल्दै बस्नेतले मिडिया जगतका अहिलेका समस्या समाधान गरेर पत्रकारिता क्षेत्रलाई मर्यादित र विश्वसनीय बनाउन सम्बद्ध सबै निकायको प्राथमिकतामा पर्नुपर्ने बताए । अभिमुखीकरणमा विज्ञकारुपमा सहभागी वरिष्ठ पत्रकार डा.सुरेश आचार्यले पत्रकारितामा विश्वसनीयता जोगाउनु अहिलेको चुनौती रहेको उल्लेख गरे । पत्रकार आचारसंहिताको पूर्णतः पालनाबाट मात्रै विश्वसनीयता कायम राखिराख्न सकिने उनको भनाई छ ।
शुक्रबारको कक्षामा ३४ नयाँ अनलाइनका सञ्चालक र सम्पादक सहभागी थिए । काउन्सिलले एक वर्ष अघिबाट अनलाइन सूचीकरणपूर्व अनिवार्य आचारसंहिता अभिमुखीकरण कक्षा लिनुपर्ने व्यवस्था गरेको थियो । एक वर्षमा ६ सय ७१ अनलाइनका सञ्चालक र सम्पादकले अभिमुखीकरण कक्षा लिएका छन् । शुक्रबारको २२ औँ श्रृङ्खलामा वरिष्ठ पत्रकार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा। सुरेश आचार्य र काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले विषयगत विज्ञकारूपमा कक्षा लिएका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com