गोर्खाली नाम हाम्रो !
आफ्नो माटो सँगेट्ने मनमन सपना नित्य जप्दै बढेको
भोकाए पेट कस्तै पलपल रणमा प्यास खप्दै लडेको।
ऊर्जस्वी तेज आभा विजय समरमा वेग झैँ लम्किएको
गोर्खाली नाम हाम्रो सबतिर छ अझै सूर्य झैँ चम्किएको।।
डट्दै लड्ने,नहट्ने कति पनि पछि यो युद्ध योद्धा चिनाऔँ
दाम्चाजस्तै फिरङ्गी चमचम खुकुरी छप्प पार्दै छिनाऔँ ।
टिस्टा जित्दै रमाई कति पर नभनी काँङ्गडा लम्किएको
गोर्खाली नाम हाम्रो सबतिर छ अझै सूर्य झैँ चम्किएको।।
सुन्दै सातो उडेथ्यो छ अति थरहरी हो महाराज कस्तो ?
सस्तो पार्दै नपार्नू कति पनि हलुका वीरता धीरता यो।
थर्काई विश्व सिङ्गै अघिअघि रणमा डुक्रिदै लम्किएको
गोर्खाली नाम हाम्रो सबतिर छ अझै सूर्य झैँ चम्किएको।।
जुट्थे सारा सिपाही दलबल महिला उच्च हुङ्कार गर्थे
खान्थे काचै उछाल्दै रनवन नभनी जित्न संसार तर्थे।
यो झण्डा फर्फराई झलमल चुचुरी पार्न जो लम्किएको
गोर्खाली नाम हाम्रो सबतिर छ अझै सूर्य झैँ चम्किएको।।
रोप्दै भाला खुँडाले लतपत खुनको खेल्न होली जुटेको
थाप्दै छाती फुलाई अविचलित बनी तोप गोला थुनेको ।
गर्ने छैनौँ गुलामी पल भर पनि भो भावमा लम्किएको
गोर्खाली नाम हाम्रो सबतिर छ अझै सूर्य झैँ चम्किएको।।
पूर्खाको साख गाथा रिपुगण बध यो मान्नु सौभाग्य जानी
नेपाली सान हाम्रो अटल अमरता वीरताको निशानी।
सम्झी सत्कीर्ति ठूलो तन मन रणमा सिंह भै लम्किएको
गोर्खाली नाम हाम्रो सबतिर छ अझै सूर्य झैँ चम्किएको।।
मान्दैनौ है हतारो अझ जहर रहे आज खाँडो पखालौ
उस्तै डुक्रन्छ ए है सहज सकलले वीरको पुत्र जानौँ ।
हो यो योद्धा विजेता विकट भुवनको विश्वमा लम्किएको
गोर्खाली नाम हाम्रो सबतिर छ अझै सूर्यझैँ चम्किएको।।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com