काठमाडौं, २४ भदौ। भारतीय गायन रियालिटी शो ‘जीटीभी–सारेगमपा लिटिल च्याम्प’की विजेता जेट्शन डोना लामाले आगामी असोज ६ गते ललितपुरको गोदावरी सनराइज कन्फ्रेन्स हलमा कन्सर्ट गर्ने भएकी छन् ।
साधना कला केन्द्रले आयोजना गर्न लागेको ‘जेट्शन डोना लामा लाइभ कन्सर्ट इन नेपाल’ च्यारिटीका लागि हुनेछ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले कार्यक्रमको बारेमा जानकारी दिएको हो ।
केन्द्रका अध्यक्ष मिलन मोक्तानले काठमाडौंको कपनमा रहेको बाल अपांग टेवा संस्थाको सहयोगार्थ कन्सर्ट गर्न लागिएको बताए ।
‘बाल अपांग टेवा संस्थामा आश्रित बालबालिकाहरुलाई विद्यालय जान समस्या भएको पायौं । ह्वीलचेयरमा उनीहरु विद्यालय जान सक्ने अवस्था देखिएन ।
यो कार्यक्रमबापत उठेको रकमको केही प्रतिशतले उनीहरुलाई गाडी अथवा भेन किन्ने उद्देश्य हो’, मिलनले भने ।
मिलनले कन्सर्टमा नेपालकै १० जना संगीतवादकको सहभागिता रहने बताए । ‘उनले १२ वटा हिन्दी गीत गाउनेछिन् । नेपाली गीतको हकमा ओएसआर डिजिटलबाट सार्वजनिक भएका गीतहरु गाउनेछिन्’, मिलनले भने । कार्यक्रममा नेपाली अपांग बालबालिकाहरुले पनि आफ्नो प्रस्तुती दिनेछन् ।
बाल अपांग टेवा संस्थाका अध्यक्ष डेन्डी शेर्पाले संस्थाको सहयोगका लागि सांगीतिक कार्यक्रम गरिनु खुशीको कुरा भएको बताए ।
आयोजकका अनुसार जेट्सन यही सेप्टेम्बर १७ तारिखमा नेपाल आउनेछिन् । कार्यक्रममा प्रत्यक्ष भिडियो संवादमा बोल्दै गायिका जेट्सनले नेपालमा कन्सर्ट गर्न आउन लाग्दा उत्साहित भएको बताइन् । आफू गायक सबिन राई, १९७४ एडीलगायतका व्याण्डको फ्यान भएको उल्लेख गर्दै उनले ‘यो मन त नेपाली हो’ र ‘प्यार जिन्दगी’ बोलको गीत सुनाएकी थिइन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com