ऊ त्यो उत्तर पश्चिम क्षितिजको
उपल्लो डाँडाको पल्तिर
भिमकाय शरिर बोकेर गजधुम्म परि बसेको
अजंगको घुर्मैलो टाकुरा देख्यौ ?
हो ! त्यही हो।
मेरो राष्ट्रिय गौरव
मेरो सगरमाथा मेरो चोमोलुङ्मा ॥
आफ्नो रिङ्गै चारैतिर
वलिष्ठ पर्वतमालाहरुलाई सुरक्षार्थ खटाएर
वर्फिला खोल्सा हिमनदी र हिम झरनाको केश लर्काउँदै
जटादेखी निस्फिक्री अमृतजल बगाउँदै
वरफको च्यादर ओढेर सिरेटोसँगै सुसेल्दै
मरुस्थलको माथी टक्रक्क अडेको
अकण्टक अटल पहाड देख्यौ ?
हो ! त्यही हो ।
संसारको शिर
मेरो सगरमाथा, मेरो चोमोलुङ्मा ॥
लाखौं कोष परबाट, हजारौं डाँडा पार गर्दै
सैयौँ खोला र समुन्द्र तरेर
दर्जनौं कष्ट सहेर, द्रव्य थैली भरेर
जसलाई हेर्न मात्रै, आँखामा बेर्न मात्रै
नजिकैबाट छुन मात्रै, छेवैमा पुगेर रुन मात्रै
यात्री बनेर पर्यटक बनेर
संसार भरिबाट ओइरिन्छन् नि मान्छेहरु
हो ! त्यही हो ।
मोहीनी अवतारको
मेरो सगरमाथा, मेरो चोमोलुङ्मा ॥
हिउँको बर्को र बादलुको च्यादर ओढेर
हुस्सु र कुहिरोसँग लुकामारी खेल्दै बसेकी उनलाई
जब घामले गोधुली किरणको रङ्ग लतपत्याईदिन्छ
तव उनि लाजले लाललाल हुन्छिन्
सुनौलो रङ्गले रङ्गिएर फिस्स हाँस्छिन्
रातको खराब सपना र दिनभरको थकान र्बिसाउने
कोमल हृदयकी कठोर थुम्का छिन् नि सोलुमा
हो ! त्यही हो ।
नेपालको चिनारी
मेरो सगरमाथा, मेरो चोमोलुङ्मा ॥
एक प्राणबिहिन सजीव पहाड
एक आत्माविहिन अजीव पहाड
उनि, अमृतधारा बगाई संसारलाई बचाउने प्राणदाता
उनि, जिव जगत र प्रकृतिको भाग्य बिधाता
उनि जव रुन्छिन् संसार अँधेरिन्छ
उनि जव हाँस्छिन् संसार उजेलिन्छ
मेनका र हिमालयको घर
पार्वती र शिवजीको दरबार
स्निध सुन्दर र मनोरम
अभेध्य पहराको दम्स्याइलो चुचुरो छ नि खुम्बुमा
हो ! त्यही हो ।
मानव सभ्यताको मुहान
मेरो सगरमाथा, मेरो चोमोलुङ्मा ॥
दर्शनको धार भन्दा माथि
विज्ञानको आधार भन्दा माथि
श्रृष्टीको आयाम र आकार भन्दा माथि
सुन्दरता र सौम्यताको प्रकार भन्दा माथि
विवेक चेतना र ज्ञान भन्दा माथि
योग साधना र ध्यान भन्दा माथि
सागरको माथा, सगरको माथा
गगनको गाथ, पुष्करको साथ
बडेमानको किम्ती पत्थर टक्रक्क उभिएको देख्यौ ?
हो ! त्यही हो ।
संसारको मान र मेरो पहिचान
मेरो सगरमाथा, मेरो चोमोलुङ्मा ॥ मधु
माधव कुमार धमला एक सफल पर्यटन व्यवसायी पनि हुनुहुन्छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com