कार्तिक, २७ । कात्तिक शुक्ल एकादशीका दिन मंगलबार हरिबोधिनी एकादशी पर्व मनाइएको छ । भगवान विष्णुको प्रतिकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइएको हो । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले यस दिनलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो ।
हरिबोधिनी एकादशीका अवसरमा काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लागेको छ । यसैगरी बूढानीलकण्ठ नारायणस्थानमा पनि मंगलबादेखि कार्तिक शुक्ल पूर्णिमाका दिनसम्म विशेष मेला सुरु भएको छ । काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com