मंसीर, ४ । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाईज टोली चितवन राइनोजले पनि आफ्नो आधिकारिक जर्सी र मस्कट सार्वजनिक गरेको छ । चितवनमा सोमबार आयोजित एक कार्यक्रमका बीच जर्सी, मस्कट र टीम गीत सार्वजनिक गरिएको हो । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल समेत उपस्थित कार्यक्रममा चितवन मेडिकल कलेजका अध्यक्ष हरिशचन्द्र न्यौपाने, टिमका अध्यक्ष आयुष न्यौपाने र मार्की प्लेयर कुशल मल्लको उपस्थितिमा जर्सी सार्वजनिक भएको हो । मेयर रेनु दाहालले राष्ट्रिय खेलाडी उत्पादनको लागि महानगरपालिकाले बिद्यालय स्तरीय लिग क्रिकेट फुटबल लगाएत बिभिन्न खेलकूदहरु आयोजना गर्दै आएको बताएकी छन् ।
त्यस्तै चितवन राईनोजका अध्यक्ष आयुष न्यौपानेले एनपिएलले स्थानिय क्रिकेट खेलाडीहरु अबसर प्रदान गरेको बताउनु हुदै यसले युवा खेलाडीहरुको क्षमता बढाउन राम्रो अबसर भएको बताउनु भयो ।
गैंडाको चित्र अंकित जर्सीमा कालो, हल्का ग्रे र सुन्तला रङ मिसाइएको छ । हल्का ग्रे रङले गैंडाको रङलाई प्रतिबिम्बित गर्ने र सुन्तला रङले चितवनबाट देखिने सूर्यास्त तथा बाघको समेत संकेत गर्ने जनाउँदै त्यसमा कालो रङको ब्लेन्डिङ गरिएको टिमले जनाएको छ ।
त्यस्तै कार्यक्रममा टिमको आधिकारिक मस्कटको रूपमा मिस्टर गैंडा ५६ पनि सार्वजनिक गरिएको थियो । ५६ ले चितवनको टेलिफोन कोडसँगै चितवनको विविधतालाई झल्काउने टिमको भनाई छ । त्यस्तै टिमको अफिसियल एन्थम (गाना) पनि सार्वजनिक भएको थियो जसमा चितवनको पहिचान, समुदाय र खेल क्षेत्रलाई जोडेर देखाइएको छ । चितवनले आफ्नो जर्सी सार्वजनिक गरेसँगै एनपीएलका आठमध्ये विराटनगरबाहेकका सातवटा फ्रेन्चाइजले आफ्नो जर्सीहरू सार्वजनिक गरिसकेका छन् ।
(एनपीएल)को खेल तालिका पनि सार्वजनिक गरिसकेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार १५ मंसिरको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स भिड्नेछन् । यो खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा १२ः१५ मा सुरु हुनेछ हुनेछ । लिगको दोस्रो दिन कुनै खेल हुने छैन । कीर्तिपुरसहित देशका विभिन्न स्थानमा हुने उपनिर्वाचनका कारण मंसिर १६ गते कुनै खेल राखिएको छैन ।
सिंगल राउण्ड रोविनका आधारमा हुने एनपीएलमा लिग चरणमा कूल २८ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । जहाँ पहिलो र दोस्रो हुने टिमबीच क्वालिफायर वान हुनेछ । यस खेलको विजेता सिधै फाइनल पुग्नेछ । यस्तै तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर हुनेछ । एलिमिनेटरमा पराजित हुने टोद्यी बाहिरिनेछ भने एलिमिनेटरको विजेता र पहिलो क्वालिफायरको पराजित टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । यसको विजेता फाइनल पुग्नेछ । एनपीएलको फाइनल खेल ६ पुसमा हुनेछ । प्रतियोगिताको खेलहरु विश्व चर्चित भारतीय च्यानल स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रशारण हुनेछ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com