पुष, ८ । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ स्थित बालकोटमा आज विहान घरमा बाबु र कान्छा छोरा मृत भेटिए । मृत भेटिनेमा खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविण छन् । संगै सुतेका जेठा छोरा मिलन आचार्य सम्पर्कविहिन् छन् । प्रहरीका अनुसार मृतकहरुको शरिरका विभिन्न भागमा चोटहरु छन् । घटनाको प्रकृति हेर्दा उनीहरुको हत्या भएको हो ।
मृतक कुल प्रसाद आचार्यको घर खोटाङको दिक्तेल हो । नेपाल सरकारको नायब सुब्बा रहेका उनी दिक्तेलमै रहेको हुलाक कार्यालयमा निमित्त कार्यालय प्रमुखका रुपमा काम गर्दै थिए । दुई अविवाहित छोराहरु भक्तपुरको एक घरको भुइँ तल्लामा केही वर्ष देखि दुई वटा कोठा लिई डेरा गरि बस्दै आएका थिए । जेठा छोरा मिलन लोक सेवा आयोगको तयारी गरिरहेका थिए । कान्छा छोरा विएससी अधययन गर्दै थिए । भएकी एक्ली छोरी केही महिना अघि मात्रै अष्ट्रेलिया पुगेकी छिन् ।
खोटाङबाट कुलप्रसाद स्कुटरको लाइसेन्स निकाल्न भन्दै ४÷५ दिन अघि मात्रै काठमाडौँ आएका थिए । कुलप्रसाद छोराहरुसंगै डेरामा बसेका थिए । गत शनिबार जेठा छोरा मिलन आचार्य र भुइँ तल्लामै अर्काे कोठा भाडामा लिएर बसेका युवक किर्तिपुरमा एनपीएलको फाइनल खेल हेर्न गए । साँझ फर्किएपछि तीन बाउ छोरा संगै खाना खाए र सुते । भोली पल्ट अर्थात आइतबार विहान ७÷८ बजे तिर दुवै कोठाको ढोकामा ताल्चा लाइरहेको छेवैमा अर्काे कोठामा बस्ने व्यक्तिले देखे । अनुमान लगाए की गाउँबाट बुबा आएको बाउ छोरा विहानै कतै मन्दीर तिर गए । तर आइतबारको दिनरात वितेर भाली पल्ट अर्थात आज विहान सम्म पनि ढोका नखुलेपछि घरमा बसेकाहरुलाई शंका पैदा भएको झत्तपुर जिल्ला प्रहरी कार्यालयका एसपी माधव बुढाथोकीले बताएका छन् ।
एउटा कोठाको झ्यालमा पर्दा पन्छाएर हेर्दा मानिसको खुट्टा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले विहान करिव १० बजेको समयमा मात्रै घटनाबारे सुचना पायो । प्रहरीले ढोका फोडेर भित्र हेर्दा फरक फरक कोठामा दुई वटा शव फेला पार्याे । शवको टाउको लगायत विभिन्न ठाउँहरुमा चोट देखिएको एसपी बुढाथोकीको भनाई छ । शनिबार राती दुई कोठामा तीन बाबु छोरा मात्रै सुतेको, ढोकामा संधै लागिरहरने पुरानै ताला लागेको र जेठा छोरा सम्पर्क विहिन् रहेकाले कतै घटना जेठा छोरा मिलन आचार्यले नै त घटाएनन् ? भन्ने शंका प्रहरीसंग छ । र प्रहरीको अनुसन्धानमा सम्पर्कविहिन् रहेका मिलन आचार्यको खोजीमा केन्द्रीत बनेको छ ।
तर प्रहरीलाई अनुसन्धान गर्न सहज भइरहेको छैन । घरको परिसरमा, बाहिर सडकका पोलहरुमा कतै पनि सिसिक्यामेराहरु छैन ।
गल्ली भित्र रहेको घरमा घटना घटेकाले मिलन कति बेला घरबाट निस्कीए ? वा बाहिरका कोही आए गए भन्ने बारे पनि कुनै रेकर्ड देखिएको छैन । तथापी ललितपुर सातदोबाटो तर्फ आइतबार विहान मिलनको फोनको अन्तिम लोकेशन ट्रयाक भएकाले प्रहरीले उनको खोजीलाई विभिन्न प्रमाणहरुको आधारमा तिब्र बनाएको छ । यत्रो घटना हुँदा पनि छेउछाउमा संगै टाँसिएका घरका मानिसहरु, पल्लो कोठामा सुतेकाहरुले समेत सुइको नपाएको हुँदा घटना निक्कै चलाखी पूर्वक घटाएको हुन सक्ने प्रहरीको निष्कर्ष छ ।
प्रहरी अनुसन्धान अनुसार कुल प्रसाद आचार्यको सानो परिवार हासी खुसी नै थियो । छोरी भर्खरै अष्ट्रेलिया उडेकी थिइन्, दुई छोराहरु काठमाडौँमा राम्रोसंग पढिरहेकै थिए । एउटा अनुशासित परिवारमा एक्कासी यो के दशा आइलाग्यो ? आश्चर्यको विषय बनेको छ । पत्याउनै नसकिने घटना घटेपछि कुल प्रसादकी श्रीमति काठमाडौँ आइरहेकी छिन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालयले घटनाको सुष्म अनुसन्धान गरिरहेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com