काठमाण्डौ । मुन्दुम पदमार्ग प्रबद्र्धनमा भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत निकै सक्रिय बनेका छन् । पर्यटन प्रबद्र्धनका लागि आवस्यक पूर्वाधार निर्माणदेखि प्रचारप्रसारका लागि संम्बन्धित संघसंस्थाहरुसँग समन्वय गरेर काम गरिरहेका छन् । केही समयअघि सामुहिक रुपमा पदमार्ग अवलोकनको कार्यक्रम गरेका अध्यक्षले पदमार्गको प्रचारका लागि टानसँग सहकार्य गरेका छन् । ट्रेकिङ एजेन्सीज एसोसिएसन टानसँग गाउँपालिकाले प्रचारप्रसारसँगै प्रबद्र्धनका लागि सहकार्य गर्ने सम्झौता गाउँपालिकाले गरेको अध्यक्ष बस्नेतले बताएका छन् ।
गाउँपालिकाले सन् २०२५ लाई पर्यटन भ्रमण वर्ष मनाउने तयारी गरेको छ । आगामी माघ १ गते टेम्केमैयुङ–४ नागीमा हुने कार्यक्रममा पर्यटनमन्त्री बद्री पाण्डेले मुन्दुम भ्रमण वर्षको सुरुवात गर्ने कार्यक्रम रहेको छ । आफ्नो पालिकाभित्र पर्ने मुन्दुम पदमार्गको ३५ किलोमिटर क्षेत्रफललाई विशेष प्राथमिकतामा राखेर आफुले प्रबद्र्धनका काम गरिरहेको र भ्रमण वर्षले एक लाख पर्यटक भित्राउने लक्ष्य रहेको उनको भनाइ छ ।
स्वीस सरकार र प्रदेश सरकारको समेत समन्वय र सहयोगमा गाउँपालिकाले पर्यटन प्रबद्र्धनका विभिन्न कामहरु गरिरहेको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
यो पदमार्गबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायतका दुई दर्जनभन्दा बढी हिमशृङ्खलाको अवलोकन गर्न सकिने छ । यो पदमार्ग हुँदै भोजपुरको सबैभन्दा अग्लो चार हजार एक सय ५३ मिटर उचाइँमा रहेको सिलिचुङ चुचुरोसम्म पुग्न सकिन्छ । पदमार्गमा बढी मात्रामा भदौ, असोज, कात्तिक र मङ्सिर महिनामा पर्यटक आउने गरेका छन् । पछिल्लो समय पर्यटक आगमनको संख्या समेत बढेको स्थानीय व्यवसायीहरु बताउँछन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com