राधा ढुंगाना ।
सुर्खेत । कर्णाली खेलकुद परिषद्ले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आकर्षक र व्यवस्थित रंगाशाला बनाएको छ । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति यही चैत्र २३ देखि २९ सम्म तोकिएको छ । राष्ट्रिय खेलकुदलाई नै टार्गेट गरि द्रुत गतिमा रंगशाला निर्माण गरिएको हो । रंगशालालाई विकशित देशका रंगाशालामा झैँ पानी तुरुन्तै जमिन मुनी सोसेर जाने विधि प्रयोग गरिएको छ । जसका कारण खेलाडीहरुलाई कुनै बाधा हुनेछैन । यहाँ एक साथ १० हजार दर्शक अट्नेछन् । भिआईपी तर्फ ४ हजार कुर्सीहरु छन् । घाम पानीले पनि असर नगर्ने मलेसियाबाट ल्याइएका कुर्सीहरु प्रयोग गरिएका छन् । जुन १० वर्षसम्म रंग समेत खुइलिने छैनन् ।
भिआईपी पाराफिटतर्फ माथिबाट आकर्षक टनेल लगाइएको छ । जसले रंगशालाको सुरन्दरता भरेको छ भने रंगशाला भित्रीने वा बाहिरिने कम्तीमा १२ वटा साना तथा ठूला गेटहरु छन् । जसले हजारौँ मानिसहरु एकाध मिनेटमै बाहिरिने र भित्रीने गर्न सकछन् । भिआईपी पाराफिट मुनीको दुइ तल्ला अफिसियल काम र खेलाडीहरुका लागि पर्याप्त कोठाहरु बनाइएका छन् । त्यो भन्दा मुनी अन्डरग्राउण्ड पार्किङ बनाइएको छ । जहाँ सयौँ गाडी र मोटरसाइकलहरु पार्किङ गर्न सकिन्छ । मुख्य रंगशालाको बाहिरपट्टि भलिबल कोर्ट, बास्केटबल, स्वीमिङ कोर्टहरु तयार भइसकेका छन् । छेउ छेउमा दुई ठूला कभर्ड हलहरु निर्माण गरिएका छन् । क्रिकेट खेलाडीहरुका लागि प्रशिक्षणका लागि छुट्टै हल निर्माण भएको छ । जहाँ खेलाडीहरु निरन्तर अभ्यास गर्न सक्दछन्् ।
रंगशालाको बाहिरी भागमा पनि पर्याप्त पार्किङको सुविधा छ । रंगशालाको सबैभन्दा बाहिरी घेरामा पर्खाल लगाइएको छ । पर्खालमै तीन दर्जनभन्दा बढि सटरहरु निकालिएका छन् । जसबाट व्यवसायका लागि भाडामा लगाएर रंगशालाको आम्दानी बढाउने लक्ष्य छ । पर्खालको माथि चिनको ग्रेटवालकै झल्को दिने गरि बाटो निकालिएको छ । कर्णालीको परिचयकै रुपमा रहेको पञ्चदेवल आकृतिमा हरेक गेटमा निर्माण गरिएको छ । यी हरेक ढुंगाहरु कर्णालीकै हुन् । विदेशबाट खरिद गर्नु पर्ने टायल प्रयोग नगरि पाराफिटदेखि सिँडी, पञ्चदेवल र वालहरुमा कर्णालीकै ढुंगा प्रयोग गरिएको छ । एकातिर आफ्नै स्थानीय उत्पादनको प्रयोग अर्कातिर टाायल खरिदका नाममा मोटो रकम बाहिरिनबाट सरकारले रोेकेको कर्णाली खेलकुद परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले बताए ।
कर्णाली रंगशालाले प्रदेश राजधानी विरेन्द्रनगरको स्वरुप नै बदलेको छ । सरकारले यस रंगशाला निर्माणका लागि कुल एक अर्व ६० करोड रुपैयाँ खर्च गरेको छ । निर्माण कम्पनीले इमान्दारी पूर्वक रफ्तारमा काम गरे । बीचमा बसेर मज्जाले समन्वय र सहजीकरण गरिदिए कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले । उनको सिधा निगरानी र समन्वयले तोएिकै समयमा गुणस्तरीय रंगशाला निर्माण संम्भव भएको हो भन्दा फरक पर्दैन । आफैँ इन्जीनियर रहेका संन्याल लामो समयदेखि खेलकुद क्षेत्र र परिषदमै संलग्न छन् । उनी भन्छन्, ‘कर्णालीमा दशोँ राष्ट्रिय खेलकुद गर्न सकिन्न भनेर धेरैले व्यंग्य गरेका थिए । ठूला मिडिया हाउसहरुले मुख्य हेलडलाइन बनाए ।’
अब विरेन्द्रनगरको व्यापार व्यवसाय फस्टाउने र नगरको अरु पूर्वाधार विकास बढेर जाने बुढापाकाहरु बताउँछन् । योसँगै अब कर्णाली दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न पूरा तयारी अवस्थामा देखिएको छ ।
भिडिओ हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com