काठमाण्डौ । नेकपा माओवादी केन्द्रले सरकार अध्यादेशको पासोमा परेको टिप्पणी गरेको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाडाँमा पत्रकार सम्मेलन गर्दै माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले संसद बोलाएको २१ दिनमा अध्यादेश अघि बढ्न नसकेको र सदनको काम शुन्य भएकाले सरकार अध्यादेशको पासोमा परेको टिप्पणी गर्नुभयो । सवैभन्दा बढि प्रभावकारी हुनुपर्ने संस्था सदन भएपनि आरोप–प्रत्यारोप थलो बन्न पुगेको उहाले बताउनुभयो । प्रवक्ता सापकोटाले दुई तिहाईको कुरा गर्ने सरकारले अध्यादेशबाट शासन चलाउन खोजेको आरोप लगाउनुभयो । उहाले सरकारले ल्याएको अध्यादेश समेत निश्चित बर्ग र घरानालाई फाइदा हुने गरि आएको समेत बताउनुभयो ।
सापकोटाले सरकारका सवै क्रियाकपाल हेर्दा ठूला दुई दल मिलेर बनेको सरकार तानाशाहीकरणतर्फ उन्मुख रहेको जिकिर गर्नुभयो । सरकारको क्रियाकलापबिरुद्ध बोल्न पाउने नागरिकको अधिकारलाई समेत कुण्ठित गर्ने काम सरकारले गर्न खोजेको उहाले बताउनुभयो ।
उहाले प्रतिगमनको खतराबिरुद्ध खवरदारी गर्दै संविधानको रक्षा गर्न माओवादी जनतातर्फ फर्किएको जिकिर गर्नुभयो । जनस्तरमा संगठन सुदृढिकरणका लागि समेत जनतासंग माओवादी अभियान अन्तर्गत फागुन १२ गते झापाबाट सुरु गरि चैत्र ८ गते कञ्चनपुरमा गएर समापन हुने उहाले बताउनुभयो । उक्त अभियान सम्पन्न भएपछि मध्यपहाडी लोकमार्ग दुई महिने अभियान सञ्चालन हुने प्रवक्ता सापकोटाले बताउनुभयो । सो क्रममा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृतिको विरोध र भण्डाफोर गर्ने उहाको भनाइ छ ।
उहाले ढिलो नगरि सवै पार्टीसंग छलफल गरि सरकारले विश्व दृष्टिकोण तयार गर्नुपर्ने धारणा राख्नुभयो । उहाले वर्तमान सरकारको कुशासनले गर्दा पूर्वराजाले व्यवस्थाबिरुद्ध बोल्ने अवस्था सिर्जना भएको जिकिर गर्नुभयो । मुलुकमा राजा फर्कने कुरा शतप्रतिशत असम्भव रहेको उहाले बताउनुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com