
भक्तपुरको ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको ‘जिब्रो छेड्ने जात्रा’लाई संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले बागमती प्रदेश सरकारले विशेष पहल थालेको छ। प्रदेश सरकार अन्तर्गतको संस्कृति तथा पर्यटन मन्त्रालयले जात्रामा जिब्रो छेड्ने व्यक्तिलाई स्वास्थ्य उपचार र प्रोत्साहनका लागि आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो।
मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीका अनुसार, परम्परा निरन्तरता दिने व्यक्तिहरूको संख्या दिनानुदिन घट्दै गएको र आगामी दिनमा यो सांस्कृतिक सम्पदा लोप हुने खतरा देखिएकाले यो निर्णय गरिएको हो। उनले जिब्रो छेड्ने परम्परा ऐतिहासिक र धार्मिक आस्थासँग जोडिएको अमूल्य सम्पदा भएकाले यसलाई लोपोन्मुख संस्कृतिको रूपमा संरक्षण गर्ने तर्फ सरकार गम्भीर रहेको बताए।
मन्त्रालयको निर्णय अनुसार, भक्तपुरमा वर्षमा दुई पटक आयोजना हुने ‘येंया पन्हीया मेय् प्वाः खनेगु जात्रा’ (जिब्रो छेड्ने जात्रा) मा सहभागी भई जिब्रो छेड्ने व्यक्तिलाई उपचार खर्च र परम्परा निरन्तरताका लागि प्रोत्साहन रकम प्रदान गरिनेछ। चालु आर्थिक वर्षको बजेटअनुसार यस कार्यक्रमका लागि प्रारम्भिक रूपमा २ लाख रुपैयाँ विनियोजन गरिएको छ।
संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठका अनुसार, प्राचीन कालदेखि चल्दै आएको यो जात्राले रोगव्याधिबाट मुक्ति, बालीनालीमा समृद्धि, तथा प्राकृतिक विपत्तिबाट रक्षा गर्ने जनविश्वास बोकेको छ। तर, आर्थिक अभाव र जिब्रो छेड्ने साहसी व्यक्तिको कमीले गर्दा यो परम्परा संकटमा पर्न थालेको उनले बताए।
सरकारको यो पहल दीर्घकालीन रूपमा टेवा पुग्ने अपेक्षा गरिएको छ। प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय आर्थिक मामिला तथा योजना मन्त्रालयसँग सहमति लिएर मन्त्रिपरिषद्बाट समेत स्वीकृत भइसकेको छ। यसरी, बागमती प्रदेश सरकारको प्रयासले भक्तपुरको यो विशिष्ट जात्राले निरन्तरता पाउने र आगामी पुस्ताले पनि यसलाई जीवन्त संस्कृतिको रूपमा अनुभव गर्ने अवसर पाउने विश्वास गरिएको छ।
आगामी दिनमा प्रदेश सरकारले यस बारेमा कानुन नै बनाएर जिब्रो छेड्ने परम्परागत सांस्कृतिक व्यवस्था संरक्षण गर्न पहल गरिने सचिव सुवेदीले बताएका छन् ।

White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com