
काठमाडौं । जेनजी आन्दोलनका कारण नेपालको पर्यटन क्षेत्रमा नकारात्मक सन्देश प्रवाह भइरहेको बेला वागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले नेपाल सुरक्षित रहेको स्पष्ट सन्देश दिएको छ ।
शुक्रबार पर्यटन कार्यालय काठमाडौंले पर्यटन क्षेत्रका सबै सरोकारवालाहरूसँग अन्तरक्र्रिया कार्यक्रम आयोजना गर्दै नेपाल अझै पनि पर्यटकका लागि सुरक्षित गन्तव्य रहेको जानकारी गराएको हो । पर्यटन कार्यालयका प्रमुख पवन पोखरेलका अनुसार आन्दोलनपछिका भ्रमपूर्ण सन्देशलाई चिर्दै नेपाल पर्यटकका लागि भरपर्दो गन्तव्य भएको तथ्यलाई विश्वभर फैलाउने उद्देश्यले छलफल गरिएको हो ।
कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले वागमती प्रदेशका विविध पर्यटन स्थल भ्रमण गर्न आन्तरिक तथा बाह्य पर्यटकलाई आह्वान गर्दै, पर्यटन व्यवसायीका समस्याहरू समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए । त्यस्तै, मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले यस वर्ष ३ अर्ब बढीको बजेटमार्फत पर्यटन विकासका कार्यक्रम अघि बढाइने जानकारी दिए । उनले उच्चस्तरीय पर्यटकीय गन्तव्य निर्माण तथा ३० वटा पदमार्ग निर्माण कार्य समेत यसै वर्ष सम्पन्न हुने बताए ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सिताराम थपलियाले सबै निकायले एउटै स्वरमा नेपाल पर्यटकका लागि सुरक्षित रहेको सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए । त्यस्तै, होटल व्यवसायी महासंघका महासचिव शंकर भण्डारीले व्यवसाय प्रवर्द्धनका लागि कर छुटको व्यवस्था गर्न सरकारसँग माग गरे ।
कार्यक्रममा टान, हान, टुर्गान, होटल व्यवसायी महासंघलगायत पर्यटनसँग सम्बन्धित संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । छलफलमा सहभागी पर्यटन व्यवसायीहरूले पर्यटन अझ सुरक्षित बनाउनुपर्ने, अघिल्ला सफल प्रयासहरूको मूल्याङ्कन गर्दै सेवा प्रवाहलाई अझ सुधार गर्नुपर्नेमा जोड दिएका थिए ।


White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com