
संवेग बस्नेत, काठमाडौं । यदि तपाईंले बलिउड चलचित्र नायक हेर्नुभएको छ भने, अनिल कपुरले एक दिनका लागि मुख्यमन्त्री बनेर देखाएको कार्यशैली याद होला। धेरै दर्शकले त्यो चलचित्र हेरेपछि वास्तविक जीवनमा पनि नेताहरूले त्यस्तै ढंगमा काम गरून् भन्ने चाहना राख्छन्।
अन्तरिम सरकारमा ऊर्जा, पूर्वाधार र विकासका क्षेत्रमा खटिरहेका मन्त्री कुलमान घिसिङलाई हेर्दा धेरैलाई नायक चलचित्रकै झल्को आउँछ। पदभार ग्रहण गरेको झन्डै एक महिनामै उनी सडकमा, निर्माणस्थलमा, बाढीपीडित क्षेत्रमा ,देखिन थालेका छन् र सक्रिय रूपमा काम गरिरहेका छन् ।।
मन्त्री घिसिङसँग अहिले तीन वटा महत्वपूर्ण मन्त्रालय छन् —
भौतिक पूर्वाधार तथा यातायात
सहरी विकास
ऊर्जा, जलस्रोत तथा सिंचाइ।
सामान्य अवस्थामा एउटै मन्त्रालय सम्हाल्न गाह्रो हुन्छ। तर कुलमान घिसिङले तीनवटै मन्त्रालय सम्हाल्दै “काम गरेर देखाउने” शैलीमा अघि बढेका छन्।
पदभार ग्रहणकै दिन उनले घोषणा गरेका थिए, “म ६ घण्टा सुत्छु, बाँकी १८ घण्टा काम गर्छु।” धेरैलाई त्यो भाषण जस्तै लागेको थियो, तर उनले भोलिपल्टदेखि नै ती शब्दहरूलाई व्यवहारमा उतार्न सुरु गरे।
जनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको चुनौतीपूर्ण समयमै घिसिङ मन्त्री बनेका हुन्। त्यसैको केही दिनमै बाढी–पहिरोले मुलुकका विभिन्न भागमा जनधनको ठूलो क्षति पुर्यायो। तर, समयमा चालेका कदमले गर्दा यसपालिको विपद्मा अपेक्षाकृत कम क्षति भयो भन्ने विश्वास धेरैको छ।
यसमा मन्त्री घिसिङको अग्रसरता महत्त्वपूर्ण रह्यो। उनी स्वयं बाढी प्रभावित इलाम पुगे, पीडितहरूसँग प्रत्यक्ष संवाद गरे र राहत तथा पुनर्निर्माणको अवस्थाबारे जानकारी लिए।
मन्त्री घिसिङले मन्त्रालयको कुर्सीमा मात्र बसेर निर्देशन दिने शैली अपनाएका छैनन्। उनले नियमित रूपमा फिल्डमा पुगेर समस्याको अवलोकन गर्न थालेका छन्। केही पछिल्ला उदाहरणहरू:
असोज २५: बाढीपीडित इलाममा पुगेर राहत तथा पुनर्निर्माणबारे जानकारी
असोज २३: बिपी राजमार्गको निरीक्षण र अस्थायी डाइभर्सन निर्माण निर्देशन
असोज २१: स्युचाटारस्थित विद्युत भार केन्द्रको निरीक्षण, विद्युत आपूर्ति प्रणालीको सुधारमा निर्देशन
असोज ६: अरनिको राजमार्ग र मध्यभोटेकोशी जलविद्युत आयोजना निरीक्षण
भदौ ३० गते मन्त्री नियुक्त भएलगत्तै पदभार ग्रहण गर्नु अगाडि नै उनले जनजी आन्दोलनमा घाइते भएकाहरूको अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका थिए ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हुँदा कुनै समस्या देखिए आर्फैं फिल्डमा खटिने छवि बनाएका घिसिङ, मन्त्री भएपछि पनि त्यसैलाई कायम राखेका छन्।
यो सरकारमा अधिकांश मन्त्रीहरूका गतिविधि ओझेलमा छन्, कतिपय केवल गृहकार्यमै सीमित छन्। तर घिसिङ चाहिँ सडकमा, भत्किएको पुलमा, डुबेका बस्तीमा, जनताको घर–आँगनमा देखिन्छन्।
उनको यो सक्रियता विगतका मन्त्रीहरूजस्तो रिबन काट्ने वा भाषण दिने शैलीभन्दा फरक छ – कामले बोल्ने शैली।
नेपालका धेरै मन्त्रीहरू भाषणमा त बलिया देखिए, तर व्यवहारमा कमजोर रहे। घिसिङको कार्यशैलीले भने आम नागरिकमा केही आशा जगाएको छ – कि नेताहरूले चाहे, भने साँच्चिकै नायक बन्न सकिन्छ।
अहिलेको अस्थायी सरकार सीमित अवधिको हो, तर यस्तो कार्यशैलीले दीर्घकालीन सन्देश दिन सक्छ – नेतृत्व भनेको कुर्सीमा बस्नु मात्र होइन, जनतासँगै हिँड्नु हो।

White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com