
काठमाडौं — नेपालले लगातार दोस्रोपटक टी–२० विश्वकप क्रिकेटमा सहभागिता जनाउने पक्का भएको छ। ओमानमा जारी आईसीसी इस्ट एसिया प्यासिफिक क्षेत्रीय छनोट प्रतियोगिताबाट नेपाल र घरेलु टोली ओमानले सन् २०२६ मा भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न लागेको विश्वकपका लागि स्थान सुरक्षित गरेका हुन्।
बुधबार सम्पन्न सुपर सिक्स चरणको खेलमा यूएईले सामोआलाई पराजित गरेसँगै नेपाल र ओमानले विश्वकप यात्रा तय गरेका हुन्। यी दुवै टोली प्रतियोगितामा अपराजित रहँदै समूह चरण पार गरेर सुपर सिक्समा प्रवेश गरेका थिए र त्यसपछि पनि उत्कृष्ट प्रदर्शन कायम राखेका छन्।
हालसम्म सुपर सिक्स चरणमा नेपाल र ओमानले समान ६ अंक बटुलेका छन्। रनरेटका आधारमा ओमान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ। अबको खेलमा नेपालले ओमानलाई पराजित गरे शीर्ष स्थानमा उक्लन सक्छ। नेपालले अन्तिम खेल शुक्रबार सामोआविरुद्ध खेल्नेछ।
यो उपलब्धिसँगै नेपालले दोस्रोपटक टी–२० विश्वकप खेल्ने अवसर पाएको हो। नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा आयोजित टी–२० विश्वकप खेलेको थियो। त्यसपछि सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा आयोजित टी–२० विश्वकपमा पुनः सहभागिता जनायो र उत्कृष्ट प्रदर्शन गर्दै टेस्ट राष्ट्रहरूसँग प्रतिस्पर्धात्मक खेल खेलेको थियो।
१० वर्षको अन्तरालपछि विश्वकपमा फर्किएको नेपाल क्रिकेटले अहिले स्थायीत्वको संकेत गरेको छ। युवा खेलाडीहरूको प्रभावशाली प्रदर्शन, बलिङ आक्रमणमा विविधता, र कप्तान रोहित पौडेलको नेतृत्वमा नेपाल लगातार उचाइमा पुग्दैछ।
अब नेपालले आगामी विश्वकपको तयारीमा ध्यान दिनेछ। प्रतियोगिताको तेस्रो स्थानका लागि अझै एक टोली छनोट हुन बाँकी छ।
क्रिकेटप्रेमी नेपाली जनतालाई यो सफलताले पुनः उत्साहित बनाएको छ, विशेषगरी युवा पुस्तालाई अन्तर्राष्ट्रिय स्तरमा प्रेरणा दिनेछ भन्ने विश्वास गरिएको छ।

White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com