
मोरङको पथरीशनिश्चरे नगरपालिका–३ स्थित गोहिहोली खोलामा पुल बन्ने भएको छ । गोहिहोली खोलामा पुल निर्माणका लागि सिलान्यास भएपछि त्यस क्षेत्रका स्थानीयको लामो प्रतीक्षा अन्त्य भएको छ । गोहिहोली खोलामा पुल भएको छ । तीन दशकदेखि जनताको माग बनेको पुल सोमबार विशेष समारोहबीच नेपाली कांग्रेसका युवा नेता तथा पूर्व सांसद डा. सुनिल शर्माले शिलान्यास गरे ।
वर्षौँदेखि स्थानीयको मुख्य आवश्यकता मानिँदै आएको सो पुलको शिलान्यासमा डा. शर्मा गोहिहोली पुगेपछि त्यस क्षेत्रका नागरिकले उत्साहका साथ फूलमाला, झाँकी र नौमती बाजासहित स्वागत गरे । कार्यक्रममा प्रदेश सांसद गीता तिम्सिना, मानवबहादुर लिम्बू, र मेयर मोहन तुम्वापो लगायत उपमेयर, वडाध्यक्ष तथा अन्य स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सो अवसरमा मेयर मोहन तुम्वापोले नगरपालिकाले समन्वय, सहयोग र निगरानीमार्फत निर्माणलाई प्राथमिकतामा राख्ने बताए ।
यस्तै, प्रदेश सांसद गीता तिम्सिनाले पुल निर्माणले स्थानीय विकासको नयाँ अध्याय सुरु गर्ने बताइन् । स्थानीयका अनुसार गोहिहोली खोलामा पुल नहुँदा यहाँको जनजीवन लामो समयदेखि प्रभावित हुँदै आएको थियो । वर्षायाममा आवत–जावत जोखिमपूर्ण मात्र होइन, स्वास्थ्य उपचार, शिक्षा, व्यापार–व्यवसाय र दैनिक क्रियाकलापमै बाधा पर्ने समस्या थियो। “हामीले यो पुलका लागि वर्षौँदेखि माग गर्दै आएका थियौं, आज त्यो सपना पुरा हुँदैछ,” स्थानीयले खुसी व्यक्त गर्दै भने । पिपलचोकलाई किरातिचोकसँग जोड्ने सो पुल ७ करोड ८३ लाख ७५ हजार रुपैयाँमा निर्माण हुने भएको छ । पुल बनेपछि करिब हजारौँ जनताको दैनिक आवत–जावत सहज हुने, कृषिजन्य वस्तुको बजार पहुँच बढ्ने र स्थानीय व्यापारिक गतिविधिमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ ।
डा. शर्मा पछिल्ला वर्षहरूमा निःशुल्क स्वास्थ्य सेवा, आकस्मिक उपचार सहयोग र सामाजिक उत्तरदायित्वमूलक गतिविधिका कारण मोरङमा मात्र होइन, देशभर नै लोकप्रिय युवा नेताका रूपमा उभिन थालेका छन् । राजनीतिमा जनविश्वास घट्दै गएको समयमा भ्रष्टाचारविरुद्धको स्पष्ट आवाज, व्यवहारिक नेतृत्वशैली र सेवा–धर्ममा आधारित कार्यशैलीले शर्माप्रति स्थानीयको भरोसा झनै गहिरिँदै गएको छ ।

White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com