काठमाडौ । नेपाली कांग्रेसका नेता रञ्जित कर्णले पार्टीभित्र देखिएको अस्थिरता, समूहगत असमन्वय र बढ्दो राजनीतिक चुनौतीका बीच अब कांग्रेसले फुटेर होइन, जुटेर अघि बढ्नुपर्ने बताएका छन्। उनले अहिलेको बिसम राजनीतिक परिस्थितिले देशलाई स्पष्ट मार्गदर्शन र स्थिरताका लागि सक्षम र जिम्मेवार नेतृत्वको आवश्यकता बढाएको उल्लेख गरे।
कर्णका अनुसार कांग्रेसजस्तो पुरानो, संघर्षशील र लोकतान्त्रिक पार्टीले नियमित महाधिवेशन सम्पन्न गर्न नसक्नु देशकै राजनीतिक दिशानिर्देशमा अनिश्चितता सिर्जना गर्ने हुँदा अब महाधिवेशनलाई अविलम्ब सम्पन्न गरेर पार्टीलाई सुचिन्तित रूपमै अघि बढाउनुपर्ने छ। उनले महाधिवेशनमार्फत संगठनात्मक कमजोरीहरू पहिचान गर्ने, नेतृत्वमा स्पष्टता ल्याउने र आगामी राजनीतिक यात्राको रोडम्याप तय गर्ने अवसर मिल्ने बताएका छन्।
उनले आन्तरिक एकता, स्पष्ट नेतृत्व र दृढ प्रतिबद्धता नै मुलुकको लोकतान्त्रिक यात्रालाई सुदृढ बनाउने मुख्य आधार रहेको जिकिर गरे। “लोकतन्त्रको रक्षा र लोकतान्त्रिक मूल्य–मान्यताहरूलाई जोगाउन कांग्रेस स्वयं एकताबद्ध, व्यवस्थित र आत्मविश्वाससहित अघि बढ्नुपर्छ,” कर्णले भने।
कर्णले विभाजन, अन्तरविरोध र गुटगत विवादले पार्टी कमजोर मात्रै नभई देशको लोकतान्त्रिक प्रणालीमै असर गर्ने बताए। उनका अनुसार अहिलेको समयमा काँग्रेसीहरूबीच सहकार्य, संवाद र एकताका प्रयास बढाउनुपर्ने छ।
“अब विखण्डन होइन, संगठन मजबुत बनाउने अभियानमा सबै काँग्रेसी एकैसाथ अघि बढ्ने बेला आएको छ,” कर्णले जोड दिए।






