काठमाडौँ । ट्रेकिङ व्यसायीहरुको छाता संगठन टानको नयाँ कार्य समितिका लागि अध्यक्षमा चोलेन्द्र कार्कीले उम्मेदवारी दिने तयारी गरेका छन् । आगामी भदौ १७ गते ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल टानको नयाँ नेतृत्व चयन गरिदै छ । त्यसका लागि लामो समयदेखि पर्वतीय पर्यटन क्षेत्रमा क्रियाशिल एवं टानका निवर्तमान प्रथप उपाध्यक्ष चोलेन्द्र कार्कीले टानको अध्यक्षका लागि तयारी थालेका हुन् । उनले सम्पूर्ण व्यवसायीहरुको तर्फबाट अध्यक्षको उम्मेदवारी दिन लागेका हुन् । उनले ह्वाइटखबरसंग कुरा गर्दै आफू टानको नेतृत्व लिने तयारी स्वरुप उम्मेदवारीका लागि छलफल गरिरहेको बताएका छन् । उनले भने, ‘टानको नेतृत्व लिनका लागि व्यवसायी साथीहरुको आग्रह छ, मैले पनि टानमा मेरो आवश्यकताको महसुस गरेको छु । त्यसैले यो पटक उम्मेदवारी दिने सोँच बनाएको छु ।’
उनले केही दिनभित्रै अध्यक्ष सहित सम्पूर्ण पदाधिकारी एवं सदस्यहरु समेत प्यानल नै घोषणा गर्ने बताएका छन् । कार्कीले यस अघि टानको प्रथम उपाध्यक्ष भई सन् २०१९ देखि ०२२ को कार्य समितिमा जिम्मेवारी पूरा गरिसेका छन् । त्यसबेला एमाले माओवादीको पार्टी एकता भई नेकपा बनेको र ट्रेकिङ व्यवसायीहरुको संगठनमा पनि एकलौटी दबदबा रहेको बखत काँग्रेसको शुभेच्छुक संगठनबाट उम्मेदवारी दिई प्रथम उपाध्यक्षमा निर्वाचित भएका थिए । विगत दुई दशक देखि ट्रेकिङ पेसामै निरन्तर क्रियाशिल रहेकाले टानको नेतृत्व लिने क्षमता आफूमा पर्याप्त रहेको उनको भनाई छ ।
को हुन् चोलेन्द्र कार्की ?
सर्वाेच्च शिखर सगरमाथा अवस्थित सोलुखुम्बुको स्थायी बासिन्दा कार्कीले १६ वर्षको उमेर देखि नै ट्रेकिङ पेसा अंगालेका थिए । सन् २०१० देखि उनी हिमालयन जोय नामक ट्रेकिङ कम्पनीका मालिक हुन् । पछिल्ला वर्षहरुमा उनी होटल तथा रेष्टुरेन्ट व्यवसायमा पनि संलग्न छन् । पर्यटन प्रवद्र्धनकै शिलशिलामा २० भन्दा बढि देशहरुको भ्रमण गरि बहुदेशीय पर्यटन संजाल निर्माणमा कार्कीले भूमिका निभाइसकेका छन् । सानै उमेरमा पर्यटन मजदुर बनेका कार्की पथप्रदर्शक हुँदै लामो संघर्षपछि व्यवसायी बनेका हुन् । उनले नेपालमा सबै पर्यटकीय पदमार्गहरुको यात्रा गरिसकेका छन् । उनलाई पदमार्गहरुको समस्या, व्यवसायीहरुको भोगाई तथा समाधानको उपायहरुका बारेमा राम्रो ज्ञान छ । टानको प्रथम उपाध्यक्ष भएर सफल कार्यकाल पूरा गरिसकेकाले अबको यात्रा भनेकै टानको नेतृत्वका लागि भएको उनको बुझाई छ । उनी वर्तमान कार्य समितिकै अध्यक्षका लागि प्रत्यासी थिए तर संगठनभित्र सम्झौता गरेका उनले यो पटक अध्यक्षका लगि दावी पेस गर्दैछन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com