राधा ढुंगाना ।
सपक्क मिलेर बसेका उस्तै घरहरु । साँझ पख डुब्नै लागेका घामका पहेँला कीरणहरुले मनमोहक देखिएको बस्ती । ढुंगाले छाएका नेपाली गाउँलेपन झल्काउने यो गाउँको नाम चैलिङ हो । सफा र चिटिक्क परेको चैलिङ जति मनमोहक छ उति नै यहाँबाट टाढा टाढाका डाँडापाखा र हिमालहरु मनमोहक देखिन्छन् । मनास्लु हिमश्रृङखला देखि र तलतिर हिमताल झेँ जमेर बसेको बादल ।
चैलिङको मज्जा अरु थुप्रै छन् । चैलिङमा नेवार समूदायको मात्रै बसोबास छ । त्यसैले यहाँ नेवारी संस्कृती र खानपानको बेग्लै स्वाद मिल्दछ । यहाँ आउने पर्यटकहरुले गाउँलाई खुबै मन पराएपछि गाउँका बासिन्दाहरुले होमस्टे अर्थात घरवास सेवा सुरु गरेका छन् । चैलिङमा १४ वटा घरमा होमस्टे संचालन गरिएको छ । एक पटकमा ३५ देखि ४० जना सम्म पर्यटकलाई सेवा दिन सकिने छ । होमस्टेमा बस्न रुचाउने, नेपालको टिपिकल गाउँघरको अनुभूति लिन रुचाउने, अर्गानिक खानपानलाई रुचाउने, घुम्न रुचाउने हरेक पर्यटकका लागि चैलिङ एक खास गन्तब्य बन्न सक्दछ ।
यति रमणीय चैलिङ गाउँ कहाँ पर्दछ त ?
काठमाडौंबाट नागढुंगा हुँदै पृथ्वी राजमार्गबाट ८० किलोमिटर पार गरेपछि बेनीघाट बजारदेखि अलि पर ज्यामिरेघाट बजार आउँछ । बजारबाट माथि करिव १० किलोमिटर कच्ची तर सुविधाजनक सडक पार गरेपछि चैलिङ गाउँ पुग्न सकिन्छ । यो गाउँ बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ८ मा पर्दछ । समुन्द्री सतहबाट करिव १६ सय मिटरको उचाईबाट नै यति आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । गाउँमा आएका पर्यटकहरुलाई उनीहरु नेवारी संस्कृती अनुसार सगुन, फूलमाला र धिमेबाजाले स्वागत गर्दछन् । यति न्यानो स्वागतले त्यहाँसम्म पुगेको थकान क्षणभरमै मेटिएर जान्छ । लोकल कुखुरा, हाँस देखि अर्गानिक खानाले झनै आनन्दीत बनाउँछ । साँझपख सा.स्कृतिक रमाइलोमा रमाउन चाहनेहरुका लागि स्थानीयहरुको उस्तै साथ रहन्छ ।
यस वर्ष गाउँ पर्यटन प्रबद्र्धन मन्च नेपाल भिटोफले तीन वटा गाउँलाई पर्यटकीय गाउँ गन्तब्य घोषणा गर्यो । त्यसमध्य चैलिङ पनि एक पर्यटकीय गाउँ हो । फलस्वरुप अहिले गाउँलेदेखि स्थानीय सरकार र विभिन्न संघसंस्थाहरुले चैलिङको प्रचार प्रसार तथा पुवद्र्धनका लागि काम गरिरहेका छन् । स्थानीयहरुले आफ्नो कला संस्कृतिको प्रदर्शन देखि अर्गानिध खानपानका साथमा न्यानो आतिथ्यताका लागि आफूलाई सक्षम बनाएका छन् । बेनीघाट रोराङ गाउँपालिकाले होमस्टे संचालनका लागि आवश्यक पूर्वाधारहरुको निर्माणमा जोड दिएको छ र पर्यटन प्रवद्र्धनमा ग्रामिण पर्यटन पूवद्र्धन मञ्च (भिटोफ नेपाल)ले अभिमुखीकरण गराउने देखि विभिन्न तालिम प्रदान गरेको छ । भिटोफले यसको प्रचारप्रसारका लागि अरु थुप्रै पहलहरु गरेको छ ।
बेनीघाट रोराङ गाउँपालिकामै एक फरक कार्यक्रमका लागि विधाङ पुगेका पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले केहि समयअघि चैलिङ होमस्टेको पनि भ्रमण गरेका छन् । चैलिङले आफूलाई मोहीत बनाएको बताउँदै पर्यटकहरुलाई लागि चैलिङलाई गन्तब्य बनाउन आग्रह गरेका छन् । झण्डै डेढ वर्ष देखि होमस्टे संचालन गरिरहेका गाउँलेहरु होमस्टेबाटै आफुहरुको आर्थिक उपार्जन हुनेमा आत्मविश्वासी देखिएका छन् । राजधानीबाट ९० किलामिटरकै दुरीमा रहेको नयाँ पर्यटकीय गाउँ प्रवद्र्धनका लागि भिटोफ नेपालले यहाँका होमस्टे संचालकहरुलाई प्रशिक्षण जारी राखेको छ ।
प्रशिक्षणका क्रममा पाहुनासंग गर्ने व्यवहार र शैली देखि खानपान र सरसफाईका बारेमा प्रशिक्षण प्रदान गरेको छ । चैलिङ गाउँ मात्रै नभई यस वरपरका होइकिङका क्षेत्रहरु आकर्षक रहेकाले विदेशी पर्यटकहरुका लागि पनि यो क्षेत्रमा प्रचुर सम्भावना रहेको वरिष्ठ पर्यटन व्यवसायीहरु बताउँछन् । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष समेत रहेका वरिष्ठ पर्यटन व्यवसायी कमल सापकोटाले चैलिङको प्रवद्र्धनका लागि आफूहरु स्थानीय सरकार र नागरिकसंग मिलेर काम गर्ने बताउका छन् ।
गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया विवेकले चैलिङ होमस्टे गाउँपालिकाकै प्रतिष्ठाको कार्यक्रम भएको बताउँदै पर्यटहरुको सुविधाका लागि कार्यक्रमहरु संचालन गरिरहेको बताएका छन् । भिटोफले यस पटक ४० भन्दा बढि पर्यटनसंग आबद्ध व्यवसायीहरुलाई चैलिङ पुर्याएर भ्रमण गराएको छ । विभिन्न ट्रेकिङ व्यवसायी, गाइड तथा होटल व्यवसायीहरुलाई भ्रमण गराएर चैलिङबारे जानकारी गराएका छन् । यसो गर्दा आगामी दिनमा पर्यटकहरुलाई चैलिङमा भित्र्याउन सकिने अपेक्षा गरिएको छ ।
चैलिङबारे जानकारी लिन तलको लिंकमा हेर्न सक्नुहुनेछ ।
चैलिङले तान्दै पर्यटक : Best #HOMESTAY TOUCHED by #Prithvi_Highway, Chailing_Homestay_Dhading
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com