
गौरवशाली गन्तव्य हो— लमजुङको घले गाउँ । जसलाई एशियाकै नमुना गाउँ, नेपालको पहिलो स्मार्ट भिलेज र नेपालको पहिलो खुशी गाउँको रूपमा चिनिन्छ। आजभन्दा २० वर्षअगाडि मात्र निकै गरिबीको रेखामुनि रहेको घले गाउँ आज नेपालको खुशी गाउँको रूपमा विकसित भएको छ। यसले सिद्ध गरेको छ कि सामूहिक प्रयास र संकल्पले असम्भवलाई पनि सम्भव बनाउन सक्छ।

नेपालका कतिपय ग्रामीण क्षेत्रहरू अझै पनि सामाजिक, शैक्षिक, आर्थिक र राजनीतिक रूपमा पछि परेका छन्, जसबाट मेरो गाउँ हगाम पनि अछुतो छैन। हगामलाई पनि पर्यटकीय दृष्टिकोणबाट एक समृद्ध गाउँमा रूपान्तरण गराउने महान् उद्देश्यअनुरूप, सम्पूर्ण हगामबासीहरू ‘गर्न सक्छौँ, गरे हुन्छ, गरि हेरौँ’ भन्ने नारालाई आत्मसात् गर्दै “ह्यूल श्हेङदे परियोजना” अन्तर्गत महान् संकल्पका साथ अगाडि बढेका छन्। यसै सन्दर्भमा, हामी हगामका युवाहरु जुगल गाउँपालिकाको आर्थिक सहयोगमा नेपालको पहिलो स्मार्ट भिलेज घले गाउँको अध्ययन, अवलोकन र भ्रमण कार्यक्रम तय गरेका थियौँ।
रोमाञ्चक यात्रा र न्यानो स्वागत
मिति २०८२ असोज २३ गते, बिहान ठीक ८ बजे, काठमाडौंबाट हाम्रो अध्ययन, अवलोकन तथा भ्रमण यात्रा आरम्भ भयो। थानकोट, कुरिनटार, मुग्लिन, डुम्रे, बेशिशहर हुँदै हाम्रो लामो र रोमाञ्चक यात्राको गन्तव्य थियो, अन्नपूर्ण संरक्षण क्षेत्रमा अवस्थित रमणीय घले गाउँ।

झन्डै १२ घण्टा लामो यात्रापछि, बेलुकी ठीक ८ बजे हामी समुन्द्री सतहबाट करिब २१०० मिटर उचाइमा रहेको घले गाउँमा पुग्यौं। हाम्रो स्वागतमा ग्रामीण घले गाउँ पर्यटन विकास समितिका सदस्यहरू परम्परागत गुरुङ भेषभूषामा सजिएर तयार हुनुहुन्थ्यो। समितिबाट सबैलाई टीका लगाउँदै गरिएको भव्य स्वागतले हामीलाई यात्राको थकान बिर्साउन सहयोग गर्यो। होमस्टे संचालकहरूले हामीलाई बासका लागि घर-घरमा लैजानुभयो। पहिलो रात हामीले स्थानीय अर्गानिक परिकारहरूको स्वाद लियौं र भोलिको महत्वपूर्ण कार्यक्रमका लागि तयारी गर्दै सुत्यौं।
प्रकृतिको उपहार र सामूहिक विकासको पाठ
भ्रमणको दोस्रो दिन, असोज २४ गतेको बिहान घले गाउँको सबैभन्दा ठूलो उपहार हामीसामु थियो— आँखा अगाडि टल्किएका माछापुच्छ्रे, अन्नपूर्ण दोस्रो, मनास्लु, बुद्ध र लमजुङ हिमाल लगायतका हिमशृङ्खलाहरूको मनमोहक दृश्य र बिहानको स्वर्णिम सूर्योदय।
बिहानको अर्गानिक खाजापछि हामी सबै समितिको कार्यालयमा भेला भयौं। औपचारिक अन्तर्क्रिया कार्यक्रममा क्व्होलासोथर गाउँपालिका-३ का वडा अध्यक्ष अस्बिर गुरुङ, घले गाउँ पर्यटन व्यवस्थापन समितिका उपाध्यक्ष मोक बहादुर गुरुङ, घले गाउँ सञ्चालन समितिका अध्यक्ष हर्कबहादुर गुरुङ लगायतका व्यक्तित्वहरू सहभागी हुनुहुन्थ्यो।
वडा अध्यक्ष तथा घले गाउँ पर्यटन व्यवस्थापन समितिका संस्थापक अध्यक्ष ज्यूले वि.सं. २०५७ सालदेखि घले गाउँको विकासका लागि गरिएका समग्र प्रयासहरू र त्यहाँ भएका असल अभ्यासहरूको बेलिबिस्तारमा वर्णन गर्नुभयो। करिब ४ घण्टा लामो यस गहन अन्तर्क्रिया कार्यक्रममा सामूहिक विकासको मर्मलाई नजिकबाट बुझ्ने अवसर मिल्यो।

गाउँ अवलोकन: इतिहासदेखि आधुनिकतासम्म
दिउँसोको खानापछि, कार्यालय सचिव दिर्ग घलेज्यू कुशलको गाइडमा हामी गाउँ वरपरका पर्यटकीय स्थलहरूको अवलोकनमा निस्कियौं:
साँस्कृतिक साँझ
अवलोकनपश्चात् बेलुकीको मुख्य आकर्षण थियो – साँस्कृतिक कार्यक्रम। पर्यटन हलमा संस्कृति समितिको १२ जना टोलीले गुरुङ भेषभूषामा सजिएर निकै राम्रो र सन्देशमूलक नृत्य प्रस्तुति गर्यो। करिब १५० जना सहभागी रहेको उक्त कार्यक्रममा कृष्ण चरित्र, घाटु, सोरठी, सेर्गा लगायतका लोपोन्मुख संस्कृतिहरू देख्न पाइयो। स्थानीयहरूसँगै नाच्ने अवसरले हामीलाई घले गाउँको धनी संस्कृतिसँग भावनात्मक रूपमा जोडिदियो।
असोज २५ गते, फर्कने कार्यसूची अन्तर्गत होमस्टे संचालकहरूले हामीलाई टीका, माला र खादा लगाउँदै अत्यन्तै आत्मीयताका साथ बिदाइ गर्नुभयो। हामीले उपहारस्वरूप गाउँमै सामूहिक रूपमा उत्पादन गरिएको चिया खरिद गर्यौं। बिहान ठीक ९:३० बजे घले गाउँबाट विदा भयौं र साँझ ६ बजे काठमाडौं आइपुग्यौं।
घले गाउँका असल अभ्यासहरू: समृद्धिको सूत्र
घले गाउँको सफलता र ‘खुशी गाउँ’ बन्नुको पछाडि निम्न विशिष्ट असल अभ्यासहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन्:
१. कडा एकद्वार प्रणाली: कुनै पनि पर्यटकलाई आफ्नो खुसीले कुनै पनि घरमा सिधै जान पाइँदैन। अनिवार्य रूपमा पर्यटन व्यवस्थापनको कार्यालयमा दर्ता गरेर समितिको निर्णयअनुसार मात्र बासको व्यवस्था गरिन्छ। पर्यटकले खाएको, पिएको लगायत सम्पूर्ण बिल अन्तिममा कार्यालयमै पेमेन्ट गर्ने प्रणाली छ। यसले गर्दा खाना, बास र कुनै पनि चिजको मूल्यमा एकरूपता कायम भएको छ। भुक्तानी भइसकेपछि, समितिको निर्णयअनुसार केही प्रतिशत प्रशासनिक खर्च काटेर बाँकी रकम होमस्टे सञ्चालकको खातामा पर्यटन व्यवस्थापन समितिले नै जम्मा गरिदिने गर्छ।
२. स्थानीय उत्पादनमा आधारित अर्थतन्त्र: त्यहाँ उपलब्ध खानेकुराहरू सबै स्थानीय स्तरमै उत्पादन गरिएका अर्गानिक सामग्रीहरू मात्र खान पाइन्छ। नुन, तेल लगायतका बाहिरी खानेकुराहरू जम्माजम्मी ५ प्रतिशत मात्र गाउँमा पुग्ने रहेछ। सामूहिक आयआर्जनको बाँडफाँड: गाउँलेहरू सिङ्गै यसै क्षेत्रमा आबद्ध छन्। होमस्टे सञ्चालन गर्नेबाहेक अन्यले तरकारी खेती, पशुजन्य उत्पादन, कृषि खेती लगायत अन्य कामहरूमा समान ढङ्गले आयआर्जनको बाँडफाँड गरेको पाइयो। यसले सामूहिक लगानी र मुनाफा वितरणको उत्कृष्ट उदाहरण पेस गरेको छ।
३. एकता र सहकार्य: सिङ्गो गाउँमा आपसी सम्मान, सहयोग र सामाजिक एकता: घले गाउँको सबैभन्दा ठूलो शक्ति नै गाउँलेहरूको अटुट एकता हो। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक हितका लागि काम गर्ने भावनाले नै यो सफलता प्राप्त भएको हो।
४. सामूहिक निर्णय प्रक्रिया: विकासका सबै निर्णयहरू समुदायको साझा छलफल र सहमतिमा आधारित: गाउँको विकास, पर्यटन शुल्क निर्धारण, नियम कानुन बनाउने लगायतका हरेक निर्णय गाउँ सभा वा व्यवस्थापन समितिमा खुल्ला छलफल र सबैको सहमतिमा मात्र गरिन्छ। यसले गर्दा निर्णयमाथि सबैको स्वामित्व स्थापित भएको छ।
५. संस्थागत संरचना र सञ्चालन प्रणाली: गाउँलाई व्यवस्थित रूपमा सञ्चालन गर्न विभिन्न समिति र उपसमितिहरु (जस्तैः पर्यटन व्यवस्थापन समिति, संस्कृति समिति, आमा समूह, गाउँ संचालन समिति, संस्कृति समिति, युवा क्लब) गठन गरिएका छन्। यी संस्थाहरूको सक्रियता र व्यवस्थित समन्वयले गर्दा पर्यटक व्यवस्थापन सहज बनेको छ।
६. दैनिक सरसफाइ र स्वच्छता: घरदेखि सार्वजनिक स्थलसम्म दैनिक सरसफाइ र फोहोर व्यवस्थापनको उत्कृष्ट नमुना: घले गाउँमा हरेक घरधुरीदेखि सार्वजनिक स्थलसम्म नियमित सरसफाइ गरिन्छ। फोहोर व्यवस्थापनको उत्कृष्ट नमुना अपनाइएको छ, जसले गर्दा गाउँको स्वच्छता कायम राख्न सफल भएको छ। यी असल अभ्यासहरूले नै घले गाउँलाई सार्क राष्ट्रकै नमुना गाउँ र नेपालको ‘पहिलो स्मार्ट भिलेज‘ तथा ‘सुखी गाउँ‘ को रूपमा परिचित गराएका रहेछन्।
म विगत केही वर्षहरूमा यूके लण्डनको कन्ट्री साइड (ग्रामीण क्षेत्र) मा घुम्ने क्रममा, त्यहाँका खुला पहाडी डाँडाहरूमा व्यवस्थित रूपमा सञ्चालित र सुविधासम्पन्न ‘स्मार्ट भिलेजहरू देख्दा सधैँ एउटा प्रश्न मनमा उठ्थ्यो— “के हाम्रै नेपालको भौगोलिक बनावट र सीमित स्रोतसाधन भएका पहाडी गाउँहरूमा पनि यस्तो आधुनिक र सुविधासम्पन्न विकास सम्भव छ?” त्यो बेला यो केवल एउटा सपना जस्तो लाग्थ्यो। तर, आज घले गाउँको यो प्रेरणादायी यात्राले त्यो सपनालाई साकार पार्न सकिने रहेछ भन्ने कुरा मात्र प्रमाणित गरिदिएन, बरु यसले सामूहिक प्रयासबाट हामी पनि अन्तर्राष्ट्रिय स्तरको विकास हासिल गर्न सक्छौँ भन्ने बलियो आत्मविश्वास जगाइदियो।
निष्कर्ष र अनुरोध
घले गाउँको यो अध्ययन भ्रमण केवल यात्रा थिएन, यो त मेरो गाउँ हगामलाई पनि घले गाउँ जस्तै‘ बनाउने सार्थकतालाई नजिकबाट नियाल्ने एउटा पाठशाला थियो।
अन्तमा : नेपाल गाउँ नै गाउँको देश हो। घले गाउँको मौलिकतामा आधारित पर्यटकीय विकासको मोडेलले यो कुरा पुष्टि गर्छ कि नेपालको कुनै पनि गाउँलाई मौलिकतामा आधारित पर्यटकीय दृष्टिकोणबाट विकसित गर्न सकिन्छ।
एकता, सहकार्य र सामूहिक निर्णयबाट एउटा सिङ्गो गाउँ कसरी समृद्धिको यात्रामा लम्कन सक्छ भन्ने कुरा घले गाउँले प्रमाणित गरिदिएको छ। गाउँको विकास र समाजको विकासलाई नजिकबाट प्रत्यक्ष रूपमा अध्ययन गर्नका लागि म सबैलाई एक पटक घले गाउँको भ्रमण गर्न हार्दिक अनुरोध गर्दछु।
घले गाउँ बन्न सक्छ भने हाम्रो गाउँपनि बन्न सक्छ भन्ने प्रेरणादायी सन्देशलाई आत्मसात् गर्दै, हामी पनि आफ्नो समुदायको विकासमा लाग्न सक्यौं भने, नेपालको हरेक गाउँ घले गाउँ जस्तै विकसित र सुखी बन्नेछन्।
आभार ज्ञापन:
अन्तमा, यस अर्थपूर्ण अध्ययन भ्रमणका लागि आर्थिक सहयोग गर्ने जुगल गाउँपालिका परिवार, र विशेषगरी पालिका अध्यक्ष आदरणीय दाजु रेशम स्याङ्बोज्यू र प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर सर, यसैगरी घले गाउँको व्यवस्थापकीय ज्ञान प्रदान गर्ने घले गाउँ पर्यटन व्यवस्थापन समिति लगायत अन्य समितिका प्रतिनिधिज्यूहरू, र समग्र यात्राको उत्कृष्ट समन्वयका लागि समितिकी पूजा गुरुङज्यू प्रति हामी हार्दिक हार्दिक आभार व्यक्त गर्दछौं। तपाईंहरूको सहयोग र समन्वयले यो यात्रा प्रेरणादायी र सफल बन्यो।
लेखक : मिलन तामाङ हिमाल आरोही तथा पर्यटक अभियान्ता हुन् । लामो समयदेखी उनी पर्यटन प्रबद्र्धनमा क्रियाशिल छन् ।



White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com