काठमाडौँ साउन ६ । विवाद पछि अर्थमन्त्रीबाट राजीनामा गरेका जनार्दन शर्मा साउन १५ भित्र पुन अर्थमन्त्री बन्ने सम्भावना बढेको छ । उनीमाथि लागेको आरोपको छानवीन गर्न गठन भएको संसदीय छानवीन समितिले प्रमाणहरु फेला नपारेपछि उनी पदमा पुनर्वहाली हुने सम्भावना बढेर गएको हो ।
बजेट निर्माणका क्रममा अनधिकृत रुपमा अर्थमन्त्रालयमा निकटस्थहरुलाई प्रवेश दिई बजेट निर्माणलाई प्रभावित बनाएको बारे चर्काे विरोध भएपछि जनार्दन शर्माले मन्त्री पदबाट राजीनामा गरेका थिए । उनका बारे आलोचना भएका विषयमा छानवीन गर्न संसदीय छानवीन समिति समेत गठन भएको थियो । असार २२ गते गठन भएको समितिले अनुसन्धानको समयावधी १० दिन गुजार्दा समेत कुनै प्रमाण फेला पार्न सकेन ।
यस अवधीमा संसदस्य समितिले अर्थ मन्त्रालयका अधिकारीहरु, समाचार सम्प्रेषण गर्ने पत्रकारहरु र स्वयम निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासंग सोधपुछ गरेको थियो । तर सोधपुछ तथा अनुसन्धानको क्रममा कुनै प्रमाण फेला नपरेपछि समितिको समयावधी ७ दिन थप गरिएको छ । असार २२ मा गठन भएको समितिले २८ गतेदेखि काम सुरु गरेको थियो । समितिले बिहीबारमात्रै सभामुख सापकोटासँग समय थप्न माग गरेको थियो । संसदीय समितिमा रहेर काम गरिरहेका एक जना सदस्यका अनुसार अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा प्रवेश गरेको कुनै प्रमाण फेला नपरेकाले शर्मा निर्दाेष रहेको अनुमान लगाउन सकिने बताए । उनले भने, ‘यद्यपी हामी थप अनुसन्धान गर्दैछौँ । त्यसैका लागि ७ दिन समय माग गरिएको हो । मलाई लाग्छ समितिले शर्मा निर्दाेष रहेको प्रतिवेदन संसदलाई बुझाउने सम्भावना छ ।’
मन्त्रीपरिषद्का एक सदस्यका अनुसार १२ गते समितिले समय सकाएपछि लगत्तै प्रतिवेदन संसदलाई बुझाउने छ । उनी निर्दोष सावित भए साउन १५ गते भित्र पुनः अर्थ मन्त्रालयमा फर्किनेछन् । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रीमा अन्य कुनै व्यक्तिलाई नियुक्त गर्ने मनस्थिति बनाएका छैनन । जनार्दन शर्मा नै निर्दाेष सावित भइ पुनबर्हाली हुने सम्भावना देखिएपछि उनले अर्थ मन्त्रालय आफ्नै मातहतमा लिएका थिए ।
जनार्दन शर्माले राजनीनामा गरे लगत्तै संसद भवन परिसरमै पत्रकारहरुसंग बोल्दै माओवादी केन्द्रका प्रभावशाली नेता बर्षमान पुन अनन्तले अर्थ मन्त्रीमा जनार्दन शर्मा नै दोहोरिने बताएका थिए । पार्टीभित्र प्रतिस्पर्धि मानिने यी दुई नेतामा जनार्दन शर्मा मन्त्रीपरिषद्बाट बाहिरिएपछि अनन्त अर्थ मन्त्री बन्ने चर्चा पनि चलेको थियो । नेता अनन्तले नै शर्मा नै दोहोरिने बताइसकेकाले यदी उनी निर्दाेष सावित भए आगामी साउन १२ गते भित्र उनी पुन अर्थमन्त्रालय फर्कनेछन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com