काठमाडौँ । नेपाली कांग्रेसका तीन जिल्लाका सभापतिहरूले आफ्नो जिल्लाका महासमिति सदस्यहरुलाई बैठकमा भाग लिनबाट वञ्चित गर्न खोजिएको भन्दै पार्टीको ध्यानाकर्षण गराएका छन् । कांग्रेस सोलुखुम्बुका नाम्गेलजाङबु शेर्पा, दोलखाका बर्मा लामा, र खोटाङ सभापति विष्णुकुमार राईले विज्ञप्ति जारी गर्दै पार्टीको विधान अनुसार नै महासमिति सदस्यहरु निर्वाचित भएको बताउँदै बैठकमा भाग लिनबाट बञ्चीत गराउन नहुने चेतावनी दिएका छन् । विधानअनुसार निर्वाचित भएका सदस्यलाई नै जिल्लालाई नै छुटाए महासमितिबाट पारित प्रस्तावको अपनत्व नहुनेसमेत चेतावनी दिएका छन् ।
‘नेपाली कांग्रेसको मौजुदा विधानले तोकेको परिधिभित्र रही नेपाली कांग्रेसका जिल्ला निर्वाचन समितिहरूले नेपाली कांग्रेसको निर्वाचन निर्देशिका, २०७८ अनुसार विधिपूर्वक निर्वाचन र सर्वसम्मत एवं निर्विरोध गराई नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति समक्ष पेश गरेका निर्वाचित महासमिति सदस्यहरूलाई महासमितिको बैठकबाट बाहिर राखे प्रपञ्च भएको सुनिन आएको छ’, तीन जिल्ला सभापतिको संयुक्तमा विज्ञप्तिमा उल्लेख छ, ‘उक्त निर्णयमा पुग्दा सम्बन्धित जिल्लाका सभापति एवं निर्वाचन अधिकृतहरूको राय एकपटक पनि सुन्ने प्रयत्न भएको छैन, यस्ता अवाञ्छित गतिविधिहरूप्रति हामी जिल्ला सभापतिहरूको गम्भीर ध्यानाकर्षण भएको छ ।’
यस्तै उनीहरूले अविलम्ब रुपमा निर्वाचित महासमिति सदस्यहरूलाई महासमितिको बैठकमा भाग लिने व्यवस्था गर्न पनि आग्रह गरेका छन् । ’सिङ्गै जिल्लालाई महासमिति सदस्यविहीन गर्ने षडयन्त्रलाई पराजित गरी उक्त महासमिति बैठकबाट पारित हुने प्रस्तावहरूको अपनत्व ग्रहण गर्ने व्यवस्था गरियोस् । अन्यथा निर्वाचित भई आएका महासमिति सदस्यहरूलाई बाहिर राखी हुने महासमिति बैठकमा हामी जिल्ला सभापतिहरू भाग नलिने जानकारी गराउँदछौं’, विज्ञप्तिमा भनिएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com