कार्तिक ४ । सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले पोखरा केन्द्रीत आन्दोलन गर्ने भएकोछ । र त्यसका लागि रास्वपाले हरेक जिल्लाबाट कम्तीमा एक सय जना पोखरा पुग्न सर्कुलर जारी गरेको छ । केही कार्यकर्ताहरु रवि संगै शुक्रबार राती नै पोखरा लागेका थिए भने कतिपय कार्यकर्ताहरु शनिबार सडक तथा हवाई मार्फत पोखरा पुगेका छन् । तर अपेक्षित मात्रामा कार्यकर्ता नउत्रिएपछि रास्वपाले निर्देशन नै जारी गरेको हो ।
रास्वपाको केन्द्रीय सचिवालयको निर्देशन अनुसार प्रदेश कमिटीले मातहतमा सन्देश प्रवाह गरेका छन् । शनिबार मध्यरातमा मातहतका पार्टी संरचनालाई म्यासेज गरेर जति सक्दो कम्तीमा सय जनाको दरले पोखरा पुग्न भनिएको छ । सन्देशमा भनिएको छ, ‘जति सक्दो छिटो कम्तीमा प्रत्येक जिल्लाबाट सय जनाको दरले पोखरामा मास उतार्नुपर्ने भन्ने केन्द्रीय पार्टी सचिवालयको निर्देशन भर्खर ११.३० मा सूचना प्राप्त भएकोले जिल्ला केन्द्रीत कार्यक्रममा भन्दा पोखरा उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ ।’
कार्यकर्तालाई पठाइएको सन्देशमा त्यसैले सक्दो छिटो पोखरा ‘मुभ’ हुन आग्रह गरिएको छ ।
सहकारी ठगी प्रकरण रास्वपा सभापति लामिछानेलाई प्रहरीले पक्राउ गरी शनिबार विहान पोखरा पु¥याएको छ । शनिबार सार्वजनिक विदा भएकाले लामिछानेलाई आज अदालतमा पेश गरिँदै छ । लामिछाने पक्राउको विरोधमा काठमाडौं र पोखरामा शनिबार रास्वपाले विरोध प्रदर्शन गरेको थियो । रास्वपाले आज पनि पोखरामा विरोध प्रदर्शन गर्ने भएको छ । यस्तै सहकारी पिडितहरुले पनि पोखरामा प्रदर्शन गर्ने भएकाले छन् । सहकारी ठग रवि लामिछानेलाई कारवाही गर्न दवाव दिँदै पिडितहरुले प्रदर्शन गर्न लागेका हुन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com