मंसीर, ४ । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरे छ । सामाजिक सञ्जालबाट अफवाह फैलाएको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले प्रसाईलाई पक्राउ गरेको हो ।
साइबर अपराधसम्बन्धी कसुर गरेको अभियोगमा निजलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता प्रहरी उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । उहाले भ्रम फैलाउने तरिकाले प्रसाईले प्रधानमन्त्रीमाथि लाञ्छना लगाएको भन्दै त्यसैमाथि टेकेर प्रहरीले अनुसन्धान सुरु गरेको बताउनुभयो । प्रसाईलाइ मंगलबार भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको हो ।
कम्बोडियाको स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीले २१ करोड अमेरिकी डलर बराबरको लगानी गरेको दाबी गर्दै प्रसाईंले फैलाएको भ्रमपूर्ण तस्वीर सामाजिक सञ्जालमा शेयर भइरहेको छ । तर, उनले प्रमाण ल्याएको भन्दै स्क्रीनमा सार्वजनिक गरेको ती कागजातका कुनै पनि विवरण विश्वसनीय नरहेको अनुसन्धान अधिकृतहरुको प्रारम्भिक निष्कर्ष छ । प्रारम्भिक जाँचमै उनले सार्वजनिक गरेको विवरण फर्जी जस्तो देखिएपछि सीआईबी र त्यसअन्तरगतको साइबर ब्यूरोले चासो देखाएको एक अधिकृतले बताए । प्रहरी अधिकृतहरुका अनुसार, प्रसाईंले प्रमाण भन्दै सार्वजनिक गरेको तस्वीरमा भएको प्रधानमन्त्री ओलीको हस्ताक्षर समेत फर्जी देखिएको छ । प्रधानमन्त्री ओलीको सचिवालयबाट अनलाइनखबरलाई प्राप्त उनको नागरिकता प्रमाण पत्रमा उल्लेखित नामसँग पनि प्रसाईंले सार्वजनिक गरेको विवरण मेल खाँदैन । नागरिकतामा उनको अंग्रेजी नाम केपी शर्मा र कोष्ठक चिह्नमा ओली लेखिएको छ । तर, प्रसाईंले सार्वजनिक गरेको कागजातमा अंग्रेजी रोमनमाKhadka Prasad Oli उल्लेख गरिएको छ ।
प्रहरीले प्रसाईंले ल्याएका विवरण कहाँबाट ‘ओरिजिनेट’ भयो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको बताएको छ । प्रसाईंले नेपालका ‘नेताहरुको पैसा कम्बोडिया, मंगोलिया, तुर्केमिनिस्तान, दक्षिण अफ्रिका, केन्या, दुबई र सिंगापुरमा छ’ भन्ने अभिव्यक्ति समेत दिएका थिए । ती विषयमा समेत उनीसँग सोधपुछ गरिने प्रहरीले जनाएको छ ।
प्रसाईंले यसअघि पनि ओलीमाथि कम्बोडियामा लगानी रहेको भन्दै आरोप लगाउँदै आएका थिए । र, प्रमाणविनै मिथ्या अभिव्यक्ति दिएको आरोप लाग्दै आएको थियो । यसपटक भने उनले आफ्नो विगतका अभिव्यक्ति पुष्टि गर्ने भन्दै युट्युबरहरुलाई बोलाएका थिए ।
पोखरामा १३ कात्तिकमा आयोजित एमाले गण्डकी प्रदेशको कार्यक्रममा ओलीले व्यंग्यात्मक रुपमा आफूमाथि लगाइएको आरोपको प्रतिवाद समेत गरेका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com