
काठमाडौं । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाले गाउँभित्र रहेका चियाबगानहरूको संरक्षण र व्यवस्थापनका लागि आफ्नै जनप्रतिनिधिहरूलाई श्रमदानमा सहभागी हुन आह्वान गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीरबहादुर बस्नेतले एक सूचना जारी गर्दै चियाबगानको गोडमेल र सरसफाइका लागि कार्तिक १३ गते बिहान ७ बजे हुने सामूहिक श्रमदानमा उपस्थित हुन अनुरोध गर्नुभएको हो।
गाउँपालिकाका अध्यक्ष राजु लामाको अध्यक्षतामा असोज २९ गते बसेको गाउँकार्यपालिकाको बैठकले बुलबुले चिया बगान र आम्लोङ् चिया बगानको संरक्षण तथा व्यवस्थापन कार्य श्रमदानमार्फत गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार गाउँपालिकाले सबै जनप्रतिनिधि — अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा सबै वडाका वडा सदस्यहरूलाई अनिवार्य रूपमा श्रमदानमा सहभागी हुन निर्देशन दिएको छ।
श्रमदानमा सहभागी हुने जनप्रतिनिधिहरूले आफ्नै कुटो, कोदालो र आवश्यक उपकरण लिएर आउने व्यवस्था गर्नुपर्ने गाउँपालिकाको सूचनामा उल्लेख गरिएको छ। श्रमदानका क्रममा जनप्रतिनिधिहरूले बुलबुले र आम्लोङ् चियाबगान क्षेत्रमा गोडमेल गर्ने, झाडी पन्छाउने र चियाबोटहरूको संरक्षण तथा सरसफाइ कार्यमा सहभागी हुने जनाइएको छ।
गाउँपालिकाका अध्यक्ष राजु लामाले जनप्रतिनिधिहरू स्वयंले हातमा कुटो–कोदालो लिएर श्रमदानमा सहभागी हुनु नेतृत्वको जिम्मेवारी र सामूहिक चेतनाको उदाहरण हुने बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रो गाउँको गौरवका रूपमा चियाबगानलाई संरक्षण गर्न सबैको सहभागिता आवश्यक छ। श्रमदानले समुदायमा एकता र जिम्मेवारीको भावना जगाउनेछ।”
लिसंखुपाखर गाउँपालिका पछिल्ला वर्षहरूमा कृषि पर्यटन, सामुदायिक उत्पादन र प्राकृतिक सम्पदाको संरक्षणमा विशेष जोड दिँदै आएको छ। बुलबुले र आम्लोङ् क्षेत्रका चियाबगानहरूलाई पर्यटनसँग जोडेर दीर्घकालीन रूपमा विकास गर्ने योजनासमेत गाउँपालिकाले अघि सारेको छ।

White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com