
काठमाण्डौँ । आर्थिक वर्ष २०८२/८३ का लागि डडेल्धुरा जिल्लाका विकास योजनामा समावेश रातो कितावको बजेट रोकिएको भन्दै डडेल्धुराका युवाहरूले कडा विरोध जनाएका छन् । युवा नेता इन्जिनियर भुवन भट्टको संयोजकत्वमा काठमाण्डौँमा आयोजित पत्रकार सम्मेलनमा वक्ताहरूले २ अर्बभन्दा बढी रकम पूर्वाग्रहका कारण रोकिएको आरोप लगाउँदै सरकारको निर्णय जनताप्रतिको धोका भएको बताएका हुन् । भट्टका अनुसार संघीय सरकार र सम्बन्धित मन्त्रालयले तालुकदार कार्यालयलाई बजेट कार्यान्वयन नगर्न निर्देशन दिएको छ, जुन “डडेल्धुरा र सुदूरपश्चिम जनताको अधिकारमाथिको अन्यायपूर्ण व्यवहार” हो । उनले भने, “डडेल्धुरा सुदूरपश्चिमका सात पहाडी जिल्लाको जक्सन प्वाइन्ट हो । यहाँको बजार व्यवस्थापन, सडक विस्तार र लिंक रोड पिच गर्ने योजनाका लागि छुट्याइएको करोडौँ बजेट रोक्नु अपराध हो ।”
पत्रकार सम्मेलनमा सहभागी पूर्व मेयर विपिन ओझाले पनि सरकारको निर्णयलाई अन्यायपूर्ण भन्दै आन्दोलनको चेतावनी दिए । पत्रकार सम्मेलनमा वक्ताहरूले जेनजि आन्दोलनको जगमा बनेको वर्तमान सरकारका प्रधानमन्त्री सुसिला कार्की, मन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालले पूर्वाग्रहका आधारमा डडेल्धुराको बजेट रोकेको आरोप लगाएका छन् ।
सो अवसरमा २०७९ को निर्वाचनमा परिवर्तनको नारा लिएर उम्मेदवार बनेका सागर ढकालप्रति पनि कडा आलोचना गरिएको थियो । भट्टले २ अर्बभन्दा बढी बजेट रोकिँदा चुइक्क नबोल्ने, जनताको पक्षमा नउठ्ने सागर ढकाललाई अब डडेल्धुरा जाने अधिकार नभएको बताएका छन् । कार्यक्रममा भुवन भट्ट, विपिन ओझा, पदम ठकुरी, जगदीश भट्ट, महेश रावल, अरुण पन्त, सुरज मल्ल, विनोद भण्डारीलगायतको उपस्थिति थियो । उनीहरुले यदि सरकारको निर्णय फिर्ता नभए, डडेल्धुरा सदरमुकाम बन्ददेखि व्यापक विरोध आन्दोलनका कार्यक्रम सुरु गरिने चेतावनी दिएका छन् ।

White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com