
काठमाण्डौँ । नेपाली कांग्रेसको संस्थापन पक्षका २५ केन्द्रीय सदस्यहरूले पार्टीको १५औँ महाधिवेशनसम्बन्धी ७ बुँदे मागसहित केन्द्रीय कार्यालय सानेपामा ज्ञापनपत्र बुझाएका छन्। केन्द्रीय सदस्य उदय शमशेर राणाका अनुसार प्रतिनिधिसभा निर्वाचन फागुन २१ अघि परिणाममुखी तयारी गर्न पार्टीले मङ्सिर १५ भित्र महाधिवेशन सुरू गर्नुपर्ने मुख्य माग छ।
ज्ञापनपत्रमा पहिलो चरणमा क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण कार्यलाई समयसीमा तोकेर छिटो टुंग्याउन आग्रह गरिएको छ। साथै युवा पुस्ताको उल्लेखनीय सहभागिता सुनिश्चित गर्न पार्टी विधान संशोधनको आवश्यकता औँल्याइएको छ। आन्तरिक निर्वाचन समितिलाई तत्काल पूर्णता दिनु, महाधिवेशनमा युवा, महिला, दलित, आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम, पिछडिएको क्षेत्र र वर्गका साथै अपाङ्गता भएका व्यक्तिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने गरी संरचना बनाउनु पर्ने माग पनि राखिएको छ।
त्यस्तै स्थानीयदेखि संघीय तहसम्मका निर्वाचनमा समानुपातिक समावेशिताअनुसार युवा उमेर समूहलाई प्राथमिकतामा राखेर उम्मेदवार चयन गर्न सुझाव दिइएको छ। संविधान संशोधनका विषयमा वडादेखि केन्द्रसम्म व्यापक संवादमार्फत पार्टीको स्पष्ट धारणा बनाउनुपर्ने उल्लेख पनि गरिएको छ। ज्ञापनपत्रमा भदौ २३ र २४ मा भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न पार्टी नेतृत्वलाई आग्रह गरिएको छ। ज्ञापनपत्र बुझाउनेमा आङ्गेलु शेर्पा, राजेन्द्र कुमार श्रेष्ठ, पुष्पा भुषाल, डा.डिला संग्रौला, भरत कुमार शाह, उदयसंशेर राणा, धना खतिवडा, बहादुरसिंह लामा लगायत २५ जना रहेका छन् ।

White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com