भदौ, २ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले भ्रष्टाचार गरेकोबारे प्रकाशित समाचारमा कुनै सत्यता नभएको प्रष्टीकरण दिएको छ । आज गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले एक विज्ञप्ती जारी गर्दै समाचारमा आएजस्तो गाउँपालिकामा भ्रष्टाचार नभएको प्रष्टोक्ति दिएका हुन् । उनले विज्ञप्तीमार्फत भनेका छन्, ‘तथ्यलाई बङ्ग्याएर समाचार लेखिएको छ ।’
विज्ञप्तिमा भनिएको छ— ‘तथ्य र तथ्यांकलाई बङ्ग्याएर निश्चित इच्छा समूहबाट परिचालित भए झैँ शृङ्खलाबद्ध भ्रामक समाचार सम्प्रेषण गर्नेहरूलाई नेपालको प्रचलित ऐन, कानूनअनुसार कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गर्दछौँ ।’
विज्ञप्तिमा पालिका नेतृत्व र नेतृत्वले गरेको काम÷कारबाहीलाई असफल बनाउन पत्रकारिताको माध्यमबाट तथ्य बङ्ग्याएर अतिरञ्जना मच्याउन खोजिएको जिकिर गरिएको छ । ‘पछिल्लो समय हाम्रो पालिका नेतृत्वको क्रियाशीलता, राजनीतिक सफलता र पालिकाले गरेको जनपक्षीय काम र विकासमा राखेको रेकर्ड रोक्न र तोड्नका लागि पत्रकारिताको आवरणमा पालिकाको बेरुजुको विषयलाई बङ्ग्याएर केही व्यक्तिले अनलाईन पत्रकारिताको माध्यमबाट अतिरञ्जित गरिएको कार्यप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार थुलुङ दुधकोशीको १ अर्ब ४ करोड १२ लाख ५० हजार रुपैयाँको लेखा परीक्षण गर्दा १ करोड ५१ लाख ४७ हजार बेरुजु देखिएको थियो । जबकी उक्त बेरुज सोलुखुम्बुको ८ वटा पालिकामध्यकै कम हो । यसमा बढीभन्दा बढी सैद्धान्तिक बेरुजु भएको पालिकाले जनाएको छ । यसैलाई भ्रष्टाचारको संज्ञा दिएर समाचार बनाइएको भन्दै पालिकाले भ्रामक समाचारको पछि नलाग्न आग्रहसमेत गरेको छ ।
गाउँपालिकाका अध्यक्ष असिम राईले ह्वाइट खबर संग कुरा गर्दै भने, ‘केही अनलाइन सञ्चार माध्यममा बेरुजु र भ्रष्टाचारको अर्थ नबुझ्ने पत्रकारहरु रहेछन्, त्यस्ता पत्रकारहरुको नियोजित प्रहार भएको मैले अनुभूति गरेको छु ।’
यसअघि गाउँपालिकामा भ्रष्टाचार भएको अनलाइनमा समाचार प्रकाशन भएको थियो । सोही समाचारको आज गाउँपालिकाले खण्डन गरेको हो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com