सोलुखुम्बु । सोलुखुम्बुको जुभीङघाटमा निर्माण भइरहेको खुम्बु जोड्ने मोटरेबल पुलको निर्माण कार्य आगामी दुई महिनाभित्र सक्न सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।
हिउँपोखरी फुटेर दुधकोशीमा आएको बाढीले ओर्लाङघाटमा रहेको मोटरेबल पुल भत्काए पछि मेयर शेर्पाले जुभीङघाटमा निर्माण भइरहेको पक्की मोटरेबल पुल निर्माण कार्य यथाशिघ्र सुचारु गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको हो ।
निर्माण कम्पनीका प्रतिनिधिसंग कुरा गर्दै मेयर शेर्पाले खुम्बुसंगको सिधा सडक सम्पर्क टुटेकाले निर्माणाधिन रुपमा रहेको पुलको निर्माण कार्य एक दुई दिन भित्रै थाल्न ताकेता गरेको उनको भनाई छ । बर्षातको समयका कारण देखाउँदै निर्माण कम्पनीले गत महिना देखि निर्माण कार्य थाँती राखेको थियो । पुलको ढलान कार्य सकिएसकेको छ भने वारपार सडकसंग फिलिङ गर्ने लगायत केही सहायक कामहरु बाँकी छन् । तर पर्यटकीय सिजन समेत सुरु हुन लागिसकेकाले खुम्बु सडक संजालबाट विच्छेद भएको अवस्थालाई पुल निर्माण सम्पन्न गरि सहयोग गर्न लागेको शेर्पाको भनाई छ ।
महादेव खिम्ती हिराचन जेभीले निर्माणको जिम्मा पाएको पुल सोलु–दूधकुण्ड नगरपालिका– १ टाक्सिन्दु र माप्य दूधकोसी गाउँपालिका– १ जुभिङलाई जोड्ने गरि निर्माण हुँदैछ । सात करोड ६ लाख ३३ हजार रुपैयाँको लागतमा निर्माण भइरहेको उक्त पुल यसै पनि निर्माण कम्पनीले ढिलाई गरिरहेको छ । दुधकोशी नदीमा आएको बाढीले ओर्लाङघाटमा रहेको ट्रस्ट ब्रिज भत्काएर नदीमा भसाइदिएको छ । जसका कारण खुम्बुसंगको सडक यातायात तत्कालका लागि टुटेको छ । पुल नहुँदा खुम्बुमा पुन उपभोग्य वस्तुको भाउ महंगिने देखिन्छ भने स्थलमार्ग भएर खुम्बु घुम्न जाने पर्यटक तथा स्थानीयलाई समेत ठूलो असर पर्नेछ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com