काठमाण्डौ, साउन १२ । वैदेशिक रोजगारीका क्रममा एकै वर्ष झण्डै १५ सय नेपालीले ज्यान गुमाएका छन् ।
पछिल्ला वर्षहरुमा वैदेशिक रोजगारीमा जाँदा ज्यान गुमाउने नेपालीको संख्या बढ्दै गएको छ । २०७६/७७ मा औसतमा दैनिक ३ जना श्रमिकको विदेशमा मृत्यु हुने गरेकोमा यो वर्ष बढेर औसत ४ जनामा पुगेको तथ्यांकमा देखिन्छ ।
आर्थिक वर्ष २०७८÷७९ मा मात्रै एक हजार ४७९ जनाले ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ । बोर्डका अनुसार एक वर्षमा मृत्यु भएका श्रमिकका परिवारलाई क्षतिपूर्तिबापत ८३ करोड ६० लाख रुपैयाँ दिइएको छ । मृतकका परिवारले बोर्डबाट क्षतिपूर्ति समेत बुझेका छन् । वैदेशिक रोजगार बोर्डका अनुसार गत वर्ष १ हजारको हाराहारीमा मात्रै श्रमिकको मृत्यु भएको थियो ।
वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार आर्थिक वर्ष २०७१/७२ मा एक हजार ६ जनाको विदेशमा मृत्यु भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७२/७३ मा ८२६, २०७३/७४ मा ७५८, २०७४/७५ मा ८२६, आर्थिक वर्ष २०७५/७६ मा ७६३, २०७६/७७ मा ६७२ जना मृतक श्रमिकका परिवारले बोर्डबाट क्षतिपूर्ति बुझेका थिए । आर्थिक वर्ष २०७७/७८ मा १ हजार २४२ पुगेको संख्या अहिले करिब १५ सय नजिक पुगेको हो । यसमा अवैध रुपमा विदेशमा काम गर्न गएर मृत्यु भएका श्रमिकको संख्या भने संलग्न छैन ।
बैदेशिक रोजगार विभागले भने विदेशमा श्रमिकहरुको मृत्यु घटाउन बोर्डले विभिन्न प्रयास गरिरहेको दाबी गर्दै आएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com