साउन २६ । जनैपूर्णिमालाई क्वाटी खाने पर्वको रुपमा लिइन्छ । यस दिन टुसा उम्रिएको गेडागुडीबाट बनाइएको क्वाँटी खाने परम्परा छ । क्वाँटी यस पर्वको खास खानेकुरा मानिन्छ । धेरै प्रकारका गेडागुडीलाई मिसाई त्यसलाई भिजाएर राखिन्छ र टुसा उम्रपछि त्यसलाई क्वाँटी बनाइन्छ । क्वाँटी पोषणको हिसाबले पनि फाइदाजनक हुने पोषणविद्हरू बताउँछन् । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर कम्तीमा पनि नौ प्रकारको गेडागुडी मिसाएपछि क्वाँटी बन्छ ।
क्वाँटी खानुका फाइदा के के छन् त ?
क्वाटीले शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न विभिन्न पोषक तत्त्वको आवश्यक पर्छ । त्यसैले शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खानुपर्छ । गेडागुडीको तरकारी धेरै खान सकिंदैन किनकि यो थोरै खाँदा पनि पेट टन्न हुन्छ । एक प्लेट वा एक कचौरा भन्दा बढी गेडागुडी खान सकिंदैन । गेडागुडीलाई भिजाएर टुसा उमारेर खाँदा त्यसमा भएको पोषक तत्त्व सजिलै प्राप्त गर्न सकिन्छ । गेडागुडीलाई भिजाएर तथा टुसा उमारेर खाँदा त्यसमा भएको पोषक तत्त्व झन् धेरै बढ्छ । गेडागुडी प्रोटिनको राम्रो स्रोत हो । आइरन, क्याल्सियम, भिटामिन र मिनरल्स पनि यसमा प्रशस्त मात्रामा हुन्छ ।
अहिले क्वाँटी खानु स्वास्थ्यको लागि झन् धेरै महत्त्वपूर्ण छ । यसमा भएको फाइबरले गर्दा पनि यो खानैपर्छ । हामीले दैनिक खाने खानामा आइरन, क्याल्सियम र प्रोटिनको केही मात्रा त हुन्छ, तर फाइबर हुँदैन । त्यसैले हामीले खाने खानामा फाइबरको मात्रा एकदमै कम हुन्छ जुन गेडागुडीबाट प्राप्त गर्न सकिन्छ ।
बोक्रा नफालिएको गेडागुडीमा धेरै मात्रामा फाइबर हुन्छ । जसको सेवनले मोटोपन घट्ने, मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोल कम गर्न पनि सहयोग गर्छ । यसले कब्जियत र पायल्स जस्ता समस्या कम गर्न पनि यो लाभदायक हुन्छ । पाचन प्रक्रियालाई एकदमै राम्रो बनाउँछ । त्यसैले क्वाँटी खानु स्वास्थ्यको दृष्टिकोणले एकदमै राम्रो हुन्छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com