काठमाडौँ । नेपाल विद्यार्थीसंगले आयोजना गर्न लागेको जय नेपाल कप दक्षिण एसियाली विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगितामा राजर्षी जनक विश्वविद्यालयलाई सहभागी हुन नदिएको भन्दै विरोध सुरु भएको छ । आफ्नै देशको एउटा विश्वविद्यालयलाई निषेध गरेर प्रतियोगिता गर्न लागेको भन्दै धुनषामा रहेको राजर्षी जनक विश्वविद्यालयका विद्यार्थी संगठनहरुले विरोध जनाएका हुन् ।
राजर्षी जनक विश्वविद्यालयस्थित नेविसंघकै इकाइ समिति, स्ववियु, अनेरास्ववियु क्रान्तिकारी लगायतले विरोध जनाएका हुन् । उनीहरुले विज्ञप्ती मार्फत तराई मधेशका विद्यार्थीहरुको आस्थाको धरोहरका रुपमा रहेको राजर्षी जनक विश्वविद्यालयले पनि सहभागीताको लागि अन्तिम तयारी गरेको तर उक्त विश्वविद्यालयको नाम आयोजकले निहित र गुटगत स्वार्थका कारण काटेको आरोप लगाएका छन् ।
नेविसंघ इकाइ समितिको विज्ञप्तीमा भनिएको छ, ‘६ देशबाट ८ विश्वबिधालय सहभागी हुने भनेर प्रचार गरेपनि अनन्त ३ देशका नाम नसुनिएका विश्वविद्यालयलाई नियोजित ढंगले बोलाई देशभित्रकै सम्भावना भएको मधेशको विश्वविधालयलाई पाखा लगाउनु कहाँ सम्मको न्यायोचित निर्णय हो ।’ नेविसंघले आयोजना गर्न लागेको प्रतियोगितामा नेसिवसंघकै इकाई समितिले विरोध जनाएको छ ।
यस्तै स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु र अखिल क्रान्तिकारीले पनि छुट्टा छुट्टै विज्ञप्ती जारी गरि राजर्षी जनक विश्वविद्यालयलाई हटाएकोमा आपत्ति जनाएका छन् ।
नेपाल विद्यार्थी संघले जलवायु परिवर्तनको मुद्दा प्रवद्र्धन गर्ने उद्देश्यसहित सोमबारबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जय नेपाल कप दक्षिण एसियाली विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा नेपालबाट त्रिवि, केयू, मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालय, भारतबाट दिल्ली, लखनउ र बाबासाहेब भीमराव बिहार विश्वविद्यालय तथा बंगलादेशबाट ढाका विश्वविद्यालयले प्रतिस्पर्धा गर्ने नेविसंघले जनाएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com