काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता माधव सापकोटा सुवोधले यस पटक सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ का लागि गठवन्धनबाट आफू नै उम्मेदवार बन्ने उद्घोष गर्नुभएको छ ।
आज काठमाडौँको एक हलमा निर्वाचन क्षेत्रभित्रका मतदानहरुसंग चाडपर्व लक्षित शभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता सुवोधले यस पटक आफू जसरी पनि उम्मेदवार हुने र जित्ने पक्का रहेको उद्घोष गर्नुभएको हो । सत्ता घटक गठवन्धनमा छलफल चलिरहेकै बेला नेता सुवोधले क्षेत्र नम्बर एकको टिकट हरेक आधारले माओवादीले नै पाउने उल्लेख गर्दै माओवादीबाट आफू नै सर्वस्वीकार्य उम्मेदवार भएको उहाँको दावी छ । आफ्नै काका समेत रहेका अग्नीप्रसाद सापकोटा निर्वाचित सो क्षेत्रमा यस पटक सुवोधले उम्मेदवारीको जबरजस्त दावी गरिरहेका छन् । केहि समय पहिले सिन्धुपाल्चोक क्षेत्र नम्बर एक स्तरीय माओवादी केन्द्रको कमिटिले प्रतिनिधिसभा निर्वाचनका लागि अग्नी सापकोटाको नाम पहिलो, माधव सापकोटो सुवोधको दोस्रो र फुलम तामाङको नाम तेस्रो सुचीमा राखेर सम्भावित उम्मेदवारहरुको नाम केन्द्रीय कमिटिमा सिफारिस गरि पठाएको थियो ।
तर नेता सापकोटाले पार्टी भित्र र बाहिर सर्वत्र आफूलाई नै उम्मेदवार बन्न सुझाव आएकाले युवा पुस्तालाई नै अवसर दिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको बताउनुभयो । कार्यक्रममा बोल्दै सुवोधले ‘मैले पार्टी अध्यक्षलाई आज विहान भेटेर भनेको छु, हाम्रो अविभावक अग्नी सापकोटालाई कहाँ व्यवस्थापन गर्ने हो गर्नुस तर यस पटक च्नाव म लड्ने हो, सबै तयारी थालिसकेको छु, म पछि हट्दीनँ ।’
‘गठवन्धनमा माथिल्लो तहमा छलफल चलिरहे पनि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को सवालमा हरेक दृष्टीकोणबाट माओवादीको सिट सुरक्षित छ र त्यो सिटको उम्मेदवार मै हुँ उहाँले भन्नुभयो ।’
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहन बस्नेतले पनि यस पटक आफु नै उम्मेदवार हुने दावी गरिरहेका छन् । गठवन्धनमा कार्यदल र शिर्ष नेताहरुले छलफल जारी राखेका बेला नेताहरुले आफ्नो दावीलाई पनि बलियो रुपमा प्रस्तुत गरिरहेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com