असार, २३ । गोकर्णेश्वर नगरपालिकाले राजधानी काठमाडौँको उत्तरपूर्वमा अवस्थित ५८.५० वर्ग कि.मि. क्षेत्रफल ओगटेको छ । विं स। २०७१ मङ्सिर १६ गते साविक सुन्दरीजल, नयाँपाटि, बालुवा, गोकर्ण र जोरपाटी गाविसहरुलाई समेटी गोकर्णेश्वर नगरपालिका स्थापना भएको हो । यस नगरपालिकाको नामांकन हाल वडा नं. ४ मा अवस्थित गोकर्णेश्वर महादेव मन्दिरको नामबाट भएको छ । ९ वटा वडा कायम भई यस नगरपालिकाको केन्द्र जोरपाटीमा रहेको छ । भौगोलिक विविधता, आफ्नै छुट्टै मौलिकता, ऐतिहासिक धार्मिक स्थल, पवित्र बागमती नदीले शुशोभित यस नगरपालिकाको भू–बनोटमा खेतीयोग्य फाँट मैदान, भीरालो पाखा र जंगल समेत समिश्रण छ । पछिल्ला वर्षहरुमा यो नगरपालिकामा उच्च दरमा जनघनत्व वृद्धि भइरहेको छ । स्थानीय तहमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका जनप्रतिनिधिहरुको सेवा अवधी सुरु भएको पनि एक वर्ष वितिसकेको छ । यो अवधीमा अघिल्लो कार्यकार्यलमा अधुरै रहेको योजना सहित नयाँ जनप्रतिनिधिहरुको आयोजना अनुसारका कार्यक्रमहरु द्रुत गतिमा अघि बढिरहेको छ । जनप्रतिनिधिहरु एक दिन पनि आराम नगरी निर्वाचित भए लगत्तै आफ्नो जिम्मेवारीमा खटिइरहेका छन् ।
भौतिक पूर्वाधार विकास तर्फ हरेक टोलहरुमा सडकको सुविधा पुगिसकेको छ । अधिकांश सडकहरु कालोपत्रे र ढलान गर्ने कार्य गरिएको छ । ग्रामिण इलाकाका सडकहरुलाई स्तरोन्नती गर्दै पक्की बनाउन बाँकी सडकहरुलाई क्रमागत रुपमा अघि बढाइने नगरपालिकाको योजना छ तर वर्तमान अवस्थामा नगरपालिकाले नगर क्षेत्र भित्रका स्थानीयहरलाई जिविकोपार्जन गराउन खेती योग्य जमिनलाई बढि भन्दा बढि बहुउपयोगी बनाउन किसान मैत्री योजनालाई पहिलो प्राथमिकतामा राखिएको छ । पशु पालन र तरकारी खेतीका लागि कृषकहरुलाई अनुदानमा व्यापक सुधार गरि प्रोत्साहन गर्ने लक्ष्य लिइएको छ । त्यसैगरी स्वास्थ्य सुधारका खातिर नगर क्षेत्रमा रहेका ठूला अस्पतालहरुसंग सहकार्य गरि नगरबासीलाई अधिकतम सुविधा दिलाउने प्रयत्न यस पटक गोकर्णेश्वर नगरपालिकाले गरिरहेको छ ।
९ वटै वडा कार्यालयका भवनहरु निर्माण भइसकेका छन् । नगरपालिकाले अहिले पनि भाडाको घरमा कार्यालय संचालन गरिरहेको छ । जोरपार्टी चोकमै रहेको सानो बजारलाई पुनस्थापना गराई सो स्थानमा गोकर्णेश्वर नगरपालिकाको भवन निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । नगरपालिककै जग्गामा सोना बजार नामले व्यापार व्यवसाय गरिरहेकाहरुले ठाउँ खाली नगराउँदा यस अघिका जनप्रतिनिधिलाई पनि चुनौतीको विषय बनेको थियो । तर मेयर दिपक रिसालले बुद्धिमतापूर्ण रुपमा निकास निकालेका छन् । र यहाँ छिट्टै नगरपानलिकाको आफ्नै भवन एकाध वर्षमै ठडिने निश्चित छ ।
नगरपालिकाकै सहजीकरणमा सडक यातायातलाई सुरक्षित र ट्राफिक व्यवस्थापनका लागि सहज बनाउनका लागि नगर क्षेत्रका मुख्य सडकहरुमा डिभाइडरहरु व्यवस्थापन गरिएको छ । ठेलागाडा व्यपारका कारण पिक आवरमा यातायात अस्त व्यस्त हुन थालेपछि नगरपालिकाले ठेलागाढा व्यापार व्यवसाय गर्नलाई विहान सात बजेसम्म र साँझ सात बजे पछिको समय व्यवस्थापन गरिएको छ । जसका कारण सडकको अस्तव्यस्त ट्राफिक समस्यालाई समाधान दिन बल पुगेको छ । मुल सडकहरुमा फुटपाथको व्यवस्थापन गरिएको छ जसका कारण पैदल यात्रीहरुलाई सुरक्षित यात्राका लागि सहयोग पुगेको छ । सडक लाइनमा अव्यवस्थित रुपमा रहेका विजुली र इन्टरनेटका तारहरुलाई व्यवस्थित गरिएको छ । नगर क्षेत्रमा नागरिकलाई सुरक्षित रहेको प्रत्याभूत गराउनका लागि नगरपालिकाले मुख्य सडक, चोक तथा सार्वजनिक स्थानहरुमा सिसिटिभि जडान गरेको छ ।
नगरपालिकाको कार्यालयमा खानेपानी समस्या लिएर आउने कुनै पनि नगरबासीलाई मेयर रिसालले खाली हात पठाएका छैनन् । हरेक गाउँ तथा टोलहरुमा नजिकको खानेपानी मुहानलाई व्यवस्थापन गरि घरघरमा खानेपानीको प्रत्याभूति गराएका छन् । जसका कारण ग्रामीण भेगका नगरबासीहरुले खानेपानी समस्याबाट दिगो मुक्ति पाएका छन् । काठमाडौँका मुख्य शहर केन्द्रीत स्थानमा मेलम्चीको पानी सुविधा भए पछि जोरपाटी लगायत नगरपालिकाको बजार क्षेत्रमा सुन्दरीजलको पानी खुवाउने योजना अनुरुप धमाधम स्थलगत काम भइरहेको छ । गोकर्णेश्वर नगरपालिका एतिहासिक धार्मिक स्थल तथा सांस्कृति महत्व रहेको स्थानीय तह हो । यहाँ एतिहासिक मठमन्दीर देखि गुम्बा र देवालयहरु रहेका छन् । जिर्ण मन्दीर र देवालयहरुको मर्मतका लागि नगरपालिकाले समूदायहरुलाई सम्मानजनक बजेटको प्रत्याभूति गराइरहेको छ ।
गोकर्णेश्वरको मुख्य पर्यटकीय स्थलहरुमा धाप ड्याम, शिवपुरी राष्ट्रिय निकुञ्ज, ऐतिहासिक बागमति नदी र त्यसको उद्गमस्थल बागद्धार, तारेभीर, जगडोल सहिदपार्क विर्सिनै सकिन्न । सुन्दरीजल हुँदै चिसापानी पदयात्रा एक आकर्षक हाकिङ रुट हो । गोर्केश्वर महादेव, उत्तरगयाधाम यस्ता असाधारण पर्यटकीय स्थलका कारण गोकर्णेश्वर नगरपालिका आम नेपाली जनताको मन मन्दीर बस्न सफल रहेको छ । पर्यटकलाई आकर्षित गर्न तारेभीर क्षेत्रमा पाखैभरी ५ सय भन्दा बढि लालिगुराासका विरुवा रोपीएको छ । र यस डाँडालाई पछि लाललिगुराँस डाँडाले चिनिनेछ ।
हरेक नेपालीले गौरव गर्ने, हरेक स्थानीय तहलाई लोभै लाग्ने गोकर्णेश्वरको सम्पदा र चिनारीहरु वास्तवमा यस नगरपालिकाको उन्नयन र प्रगतीका लागि कोषेढुंगा बन्न सक्छ । यहाँबाट आम्दानी हुने आय श्रोतले नगरपालिकालाई बलियो बनाउन तागत भर्दछ । आन्तरिक तथा बाह्य पर्यटकहरुका कारण यहाँका हजारौँ नागरिकहरुले रोजगार र व्यवसायको अवसर पाएका छन् । आगामी वर्षहरुमा समयसंगै थप व्यवस्थित र आकर्षक गन्तब्य बनाउनका लागि नगरपालिकाले भौतिक पूर्वाधारहरुको निर्माणमा विशेष जोड दिएको छ । सुन्दरीजल र धाप ड्यामलाई लाखौँ पर्यटकको गन्तब्य स्थल बनाउनका लागि नगरपालिकाले बहुबर्षिय योजना अघि बढाई केन्द्र सरकार र प्रदेश सरकारसंग पनि सहयोगको माग गरेको छ ।
नगरपालिकाभित्र सहरीकरण बढ्दै गएपछि ढल व्यवस्थापन लथालिंग हुन नदिन नगरपालिकाले अहिले देखि घर निर्माण कढाई गरेको छ । हरेक घर निर्माण गर्दा सेफ्टी ट्यांकी निर्माण अनिवार्य गरेको छ । त्यसो नगरे नक्सा पास नै नहुने नीति ल्याइएपछि नयाँ घर बनाउनेहरुले अनिवार्य सेफ्टी ट्यांकी निर्माण गर्ने गरेका छन् । जसले ढल व्यवस्थापनमा दिगो समाधान दिने नगरपालिकाको विश्वास छ ।
स्वास्थ्य :
गोकर्णेश्वर नगर अस्पतालमा विशेषज्ञ सेवा बिस्तार गरिएको छ । आखा सेवा, अत्याधुनिक मेसिनहरुद्वारा गुणस्तरीय प्रयोगशाला र एक्सरे, भिडियो एक्सरे सेवा बिस्तार गरिएको छ । निशुल्क दुई वटा एम्बुलेन्स सेवा संचालनमा मात्रै ल्याएको छैन प्राबिधिक कर्मचारी थप गरि सेवा विस्तारमा यस नगरपानलिकाले विशेष जोड दिएको छ । यही अस्पतालमा निशुल्क अस्पताल फार्मेसी संचालन, अस्पतालबाट स्वास्थ्य बिमा सेवा सुरु गरिएको छ । नगरपालिका हाताभित्र रहेका विभिन्न चार वटा वडाका स्वास्थ्य संस्थामा प्रयोगशालामा सेवा विस्तार गरिएको छ । सबै वडाहरुमा भिडियो एक्सरे सेवा संचालन, सुत्केरीलाई घरमै गएर भेट्ने, गर्भवती तथा सुत्केरीलाई पोषक तत्व वितरण गर्ने कार्यक्रम सञ्चालन गरिएको छ । ज्येष्ठ नागरिक घरदैलो कार्यक्रम, सुन्दरीजलको ओख्रेनीमा हेल्थ डेस्क स्थापना, निजी क्लिनीक दर्ता अनुगमन कार्य जारी छ । हरेक विद्यालयमा एक जना स्टाफनर्स अनिवार्य राख्नुपर्ने नगरपालिकाको निर्णय प्रसंशायोग्य छ । ५ वटा विद्यालयमा निर्णय कार्यान्वयन पनि भईसकेको छ । विभिन्न विद्यालय र सार्वजनिक स्थलमा नगरपालिकाले स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।
सवै ज्येष्ठ नागरिकलाई आँखा जाँच गरि निशुल्क चस्मा वितरण, मोतीबिन्दु जलबिन्दु भएका नागरिकलाई नेपाल मेडिकल कलेजसँग सम्झौता गरि निशुल्क सल्यक्रिया गरिदै आएको छ । नगरभित्रका नेपाल मेडिकल कलेज, अर्थोपेडिक र आम्दा हस्पिटलसँग सहकार्य गरि स्थानीयको उपचारमा निशुल्क र छुटको सेवा प्रदान गरिएको छ । साथै नगरभित्रका स्थानीयलाई निशुल्क ब्लड प्रदान गर्न मेडिकल कलेजसँग सहकार्य गरिएको छ । आम्दा हस्पिटलसँग नगरपालिकाका महिलाहरुको स्तन र पाठेघर मुखको क्यान्सरको अनिवार्य जाँच र निशुल्क उपचारको व्यवस्था मिलाईएको छ ।
बालुवा स्वास्थ्य चौकी र बेशी गाउँ शहरी स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि जग्गा प्राप्ति भइ डिपिआर तयार भएको छ । गोकर्णेश्वर नगर अस्पताल निर्माण गर्न १६ रोपनी जग्गामा २८ करोड रुपैयाँ लगानीमा भवन निर्माण गर्न प्रक्रिया अघि बढाइएको छ ।
पशु विकास :
हरेक कृषकलाई कृषि कार्ड वितरण गरिएको छ । पशुपक्षीलाई निशुल्क औषधि वितरणको व्यवस्था मिलाईएको छ । किसानकै घर गोठमा दक्ष प्राविधिकद्धारा निशुल्क उपचार सेवा, महामारीजन्य रोगहरुविरुद्ध गोठमै गई निशुल्क खोप सेवाको व्यवस्था, पोषिला जातका विभिन्न घासँ वितरण, कृतिम गर्भाधानमा अनुदान र सात सय भन्दा बढि सामुदायिक कुकुरलाई बन्ध्याकरण गरिएको छ ।
मासुमा आत्मनिर्भरताका लागि वडा नम्बर १,२,३ मा झण्डै २ सय जना किसानलाई सहभागि गराई बाख्रा पालन कार्यक्रम सञ्चालन गरिएको छ । ३३ जना बाख्रा पालक किसानहरुलाई खोर निर्माण र बाख्रा खरिदमा प्रति किसान ३० हजार रुपैयाका दरले अनुदान दिइएको छ । ३० जना गाईपालक किसानलाई गोठ निर्माण र गाई खरिदमा प्रतिकिसान ५० हजार रुपैयाका दरले अनुदान दिईएको छ । ती पशुका आहाराका लागि एक जनालाई डालेघाँसको नर्सरी स्थापना गर्न २ लाख रुपैया अनुदान दिइएको छ । यस नगरपालिकाको ४ नम्बर वडामा लागि ६० लाख रुपैया खर्चिएर मिट मार्ट अर्थात मासु बजार स्थापना गरिएको छ । दाना बनाउने मेसिन २१ थान, च्याप कटर १६ थान, काउ म्याट २५० थान ५० प्रतिशत अनुदानमा किसानहरुलाई उपलब्ध गराईएको छ । गोकर्णेश्वर नगरपालिकाले नगरक्षेत्रमा ४ हजार जना किसान पहिचान गरेको छ । र ती हरेक किसानलाई आत्मनिर्भरसहित व्यवसायिक बनाउने उद्धेश्य नगरपालिकाले लिएको छ ।
कृषि क्षेत्र :
यस नगरपालिकाको १,२, ३ र ४ नम्बर वडालाई कृषि पकेट क्षेत्र घोषणा गरिएको छ । विशेषगरि ओख्रेनी, चिलाउने, मुलखर्क, सुन्दरीजल, नयाँपाटी, बालुवा, तारेभिर र गोकर्णलाई कृषि पकेट क्षेत्रको मुल थल मानिएको छ । यी स्थानहरुमा तरकारी, च्याउ खेती गर्नेलाई अनुदान, च्याउको विउ उत्पादन गर्ने ल्याब स्थापना गरिएको छ । खुसीको सन्देश ः नगरपालिका च्याउको विउ उत्पादनमा आत्मनिर्भर बनेको छ ।
खेतीयोग्य जमिन घर घडेरीमा रुपमान्तरण हुँदै गएपछि नगरपालिकाले कौषि खेतीसम्बन्धि तालिमलाई ब्यापक रुपमा अघि बढाएको छ । परिणाम स्वरुप गोकर्णेश्वरका अधिकांस घरका छतहरुमा कौषिखेती देख्न पाइन्छ । विशेष गरि तरकारी खेतीका लागि किसानलाई प्रोत्साहित गर्न प्लाष्टिक टनेल ६० वटा कृषि फर्मलाई ५० प्रतिशत अनुदानमा प्रदान गरिएको छ । २५ किसानलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर उपलब्ध गराईएको छ । यो वर्ष ७ हजार ५ सय परिवारलाई २ सिजन गरि निशुल्क विउविजन वितरण गरिएको छ । जसका कारण कृषकहरुलाई तरकारी खेती गर्न प्रोत्साहन मिलेको छ ।
खाद्यबाली जस्तै, धान गहुँ, मकै उत्पादन बृद्धि गर्न ५ सय घरपरिवारलाई ५० प्रतिशत अनुदानमा मल वितरण गरिएको छ । मौरीपालनका लागि गोलोघार ५० प्रतिशत अनुदानमा ६५ जनालाई तालिमसहित वितरण गरिएको छ । शहरीकरणले नगरपालिकाको मैदाने भुभाग द्रुत गतिमा ढाकिँदै जाँदा नगरपालिकाको ध्यान चाँहि कृषकहरुलाई आत्मनिर्भर र व्यवसायिक बनाउन प्रमुख एजेण्डा बनाएर लागि परेको छ ।
शिक्षा :
हरेक सरकारी संस्थागत विद्यालयहरुमा स्थानीय पाठ्यक्रम गोकर्णेश्वर नामक पुस्तक समावेश गरिएको छ । जहाँ गोकर्णेश्वरको स्थानीय चिनारी समावेश छ । हरेक विद्यालयमा लेखा व्यवस्थापन तालिम सुरु गरिएको छ । नगरपालिकाको सहजीकरणमा सामुदायीक विद्यालयहरुमा कोचिङ कक्षा सन्चालन गरिएको छ । विद्युतीय विद्यालय प्रोफाइल व्यवस्थापन गरिएको छ । प्रधानाध्यापकहरुलाई विद्यालय व्यवस्थापन तालिम दिइएको छ । नगर शिक्षा ऐन तयार पारी नगर शिक्षा नियमावली निर्माण भइरहेको छ । नगरपालिकाको ओख्रेनी, चिलाउने, मुलखर्क जस्ता ठाउहरुका बिधार्थिहरुलाइ पढ्नको लागि टाढा जानु पर्ने र यातायातको समस्या भएकाले निशुल्क बस सेवा प्रदान गरिएको छ ।
नगरपालिका भरि २७३ महिला समूहहरु रहेका छन् । महिला समुहहरुको क्षमता बिकाश गर्नको लागि विभन्न तालिम, अभिमुखीकरण गराइएको छ । महिला उधमी र रोजगारको लागि महिला समुहमा तोरीको तेल मिल, बुटिक, सिलाइ बुनाइ उद्गोग, साबुन बनाउने मेशिन, प्याड बनाउने मेसिन, पेपर कप थाल भाडाकुडा बनाउने मेसिन, वातावरण मैत्री झोला बनाउने तालिम लगायत स्वरोजगार मुखी जनशक्ति उत्पादनका लागि विभिन्न तालिम प्रदान गरिएको छ । फरक क्षमता भएकाहरुको ह्वेल चेयर मर्मतका लागि नगरपालिकाले कर्मचारी व्ष्वस्थापन गरि निशुल्क मर्मत गर्ने व्यवस्था मिलाएको छ ।
खेलकुद :
वडा नम्बर १ मुलखर्कमा २६ लाख रुपैयाँमा फुटबल ग्राउण्ड निर्माण गरिएको छ । चिलाउनेमा पनि फु्टबल ग्राउण्ड र ओख्रेनी क्लब भवन निर्माण जारी छ जहाँ ४० लाख रुपैयाँ यसै आर्थिक वर्षमा खर्च भइसकेको छ । राम जानकी स्कुल नजिक ४ करोड रुपैयाँ लगानीमा सुविधायुक्त बहुउपयोगी कबर्ड हल पनि निर्माण भइरहेको छ । वडा नम्बर २ स्थित नयाँपार्टीमा ब्याटमिन्टन कबर्डहल निर्माण भइरहेको छ । वडा नम्बर ३ गाम्चा, राधाडिल र तारेभिरमा खेलकुद मैदान निर्माण जारी छ । वडा नम्बर ४ को भैरब चउरमा भलिबल कबर्ड हल ४ करोड रुपैयाँ लगानीमा निर्माण भइरहेको छ । ५ र ८ नम्बर वडामा क्रमश बाहुनधारा र बेशी गाउँमा ब्याटमिन्टन हल पनि निर्माण गरि प्रयोगमा ल्याइएको छ । वडा नम्बर १ मा नगरस्तरीय रंगशाला निर्माणकमा लागि योजना अघि बढाइएको छ ।
गएको पाँच वर्ष गोकर्णेश्वर नगरपालिका विकासका लागि आधार स्तम्भ बन्यो । दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिहरुको सक्रियता हेर्दा यस्तो देखिन्छ, यो पाँच वर्ष गोकर्णेश्वरका लागि विकास र रुपान्तरका लागि द्रुत गति तय हुनेछ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com