असार, १० । सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ६७ करोड ६२ लाख ९३ हजार ९ सय ९८ रुपैयाँको बजेट ल्याएको छ । आज बसेको नगरसभाको चौधौँ अधिबेशनमा उपमेयर गान्धीमाया तामाङले विनियोजन विधेयक २०८१ पेश गर्दै संघ, प्रदेश सरकार र आन्तरिक राजस्व गरी चालु र पूजीँगत गरी झण्डै ६८ करोडको बजेट प्रस्तुत गरेकी छिन् ।
अधिबेशनमा मेयर जाम्गेल जाङबु शेर्पाले आगामी आर्थिक वर्ष २०८१–८२ मा नगरले अबलम्बन गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममा कृषि उत्पादन र बजारीकरणलाई जोड दिइएको छ भने किसान सूचिकरण मार्फत अवस्था र आवश्यकता पहिचान गर्ने बताइएको छ । रैथाने बाली प्रवद्र्धन, कृषि उत्पादन आयात भन्दा निर्यातलाई प्रोत्साहन गर्ने र सामुदायिक विउ बैँक सम्मको नीति लिने भएको छ । आगामी आर्थिक वर्षमा नगरले पर्यटकीय क्षेत्रमा आवश्यकताको आधारमा पूर्वाधार निर्माण गर्ने, पर्यटकीय साहसिक खेल सञ्चालनमा तदारुकता देखाउने लगायतका नीति अबलम्बन गर्ने छ । चिया खेतीको संभाव्यताको अध्ययन, किवि, आलु, माछा पालन प्रोत्साहन अनुदान दिने देखि परम्परागत सीपको व्यवसायिकतामा जोड र उद्यमीको विकासलाई प्राथमिकता दिने मेयर शेर्पाले बताए ।
नगर भित्र रोजगारी सृजना गर्न विकास निर्माणको आयोजनामा स्थानीयलाई प्राथमिकता दिने देखि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्ने नीति लिइएको छ । एसइइमा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयलाई पुरस्कृत गर्ने नीतिलाई निरन्तरता दिने नगरले किशोरीहरुलाई निशुल्क प्याड उपलब्ध गराउने छ । यसअघि पनि नगरबासीलाई निशुल्क एम्बुलेन्स सेवा दिदै आएको नगरले आगामी वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिने भएको छ । स्वास्थ्य संस्थामै सुत्केरी गराउने कार्यलाई बढवा दिने, स्वास्थ्य शिक्षा र स्वास्थ्य परीक्षणका लागि विद्यालयमा त्रैमासिक रुपमा शिविरको आयोजना गर्ने नीति आगामी वर्षमा लागू गर्ने नगरको तयारी छ ।
२०८३ सम्म नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने लक्ष्य अनुसार बालमैत्री संरचना र क्रियाकलापमा ध्यान दिने नीति अबलम्बन गर्ने मेयर शेर्पाले बताए । सोलुदुधकुण्ड नगरपालिकाले पूराना र नयाँ पुस्ताको अनुभव आदानप्रदानका लागि अन्तरपुस्ता नामक कार्यक्रम सञ्चालन गर्नेछ भने दलित तथा विपन्न समुदाय लक्षित सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ । सडक तर्फ सल्लेरीदेखि माप्य दुधकोशी र फाप्लु देखि टाक्सिन्दु हुदैँ खुम्बु जाड्ने सडकको कालोपत्रेको काम समयमै सम्पन्न गर्नका लागि आवश्यक पहलकदमी लिने, नगरपालिकाको प्रशासनिक भवन निर्माण सुरु गर्ने र वडा नं १, ८ र १० को प्रशासनिक भवन निर्माण गरी सेवा प्रवाह सुरु गर्ने तयारी गरिएको छ । अधिबेशनले उपमेयर तामाङले पेश गरेको आर्थिक विधेयक–२०८१ र वडा नं ७ का अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले पेश गरेको सार्वजनिक नीजि साझेदारी तथा लगानी ऐन मस्यौदा–२०८१ लाई पनि पारित गरेको छ ।
सभामै नगरपालिकाले आर्थिक वर्ष २०७४–७५ देखि २०७८–७९ मा भए गरेका विकास निर्माण र उपलब्धि समाबेश गरि ‘सोलुदुधकुण्ड नगरपालिकाको ५ वर्ष’नामक पुस्तक लोकापर्ण गरेको छ । पुस्तकको लोकापर्ण मेयर नाम्गेल जाङबु शेर्पा र उपमेयर गान्धीमाया तामाङले गरेका हुन् । सभामा प्रमुख प्रशासकीय अधिकृत कोपिला राई, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com