राधा ढुंगाना
वैशाख, ६ । सोलुखुम्बुको एक मात्र संस्कृत विद्यालय वीपी संस्कृत माविले बृहत शैक्षिक अन्तर्क्रिया तथा पुर्व विद्यार्थी भेला गर्ने भएको छ । नेचा सल्यान गाउँपालिका वडा नम्बर २ मा रहेको यो विद्यालयले शैक्षिक उन्नयनका लागि भन्दै बृहत शैक्षिक अन्तरक्र्रिया कार्यक्रमको आयोजना गर्न लागेको प्रधानाध्यापक उमाकान्त काफ्लेले जानकारी दिनुभयो ।
जिल्लाकै एक मात्र संस्कृत विद्यालय भएकाले यसको संरक्षण साथै बृहत विकासका लागि अक्षयकोष स्थापनासहित विभिन्न योजनाका सन्दर्भमा छलफल गर्न यो कार्यक्रम महत्वपुर्ण रहेको शिक्षक अभिभावक संघका अध्यक्ष मिलन केसीको भनाई छ ।
सोही कार्यक्रममा विद्यालय स्थापनाकालदेखिका पूर्व विद्यार्थीहरु, संस्थापक, पूर्व शिक्षकहरु, अभिभावक, विव्यस अध्यक्ष तथा पदाधिकारी, शिअसंघका अध्यक्ष तथा पदाधिकारीहरु, जनप्रतिनिधि, स्थानीय तथा विद्यालयसँग सरोकार राख्ने सरोकारवालाहरुको सहभागिता रहने विव्यस अध्यक्ष सुरज केसीले जानकारी दिनुभयो ।
सोही कार्यक्रममा कोष स्थापनासँगै पूर्व विद्यार्थीको भेलाले विद्यालयको चौतर्फी विकासका लागि सहयोग पुर्याउने विद्यार्थी समाज गठन गरिने अध्यक्ष केसीको भनाई छ । कार्यक्रम पुर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता बलबहादुर केसीको प्रमुख आतिथ्यतामा हुनेछ भने विद्यालयका संस्थापकलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।
पुर्व विद्यार्थी तथा शिक्षकहरु धेरैजसो काठमाण्डौ केन्द्रित भएकाले बृहत शैक्षिक अन्तरक्र्रिया तथा पुर्व विद्यार्थी भेला कार्यक्रम काठमाण्डौमा आयोजना गर्न लागिएको हो । कार्यक्रम वैशाख ८ गते शनिबार काठमाण्डौको फैका चोक स्थित मण्डला पार्टी भेन्यूमा आयोजना गर्ने तयारी गरिएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com