काठमाडौँ । विद्यालय शिक्षाको विरोधमा काठमाडौँमा आन्दोलन गरिरहेका राहत शिक्षकहरु माथि प्रहरी दमन भएको भन्दै प्रतिनिधिसभा सदस्य एवं माओवादी केन्द्रका नेता माधव सापकोटा सुवोधले असन्तुष्टि जनाउनुभएको छ ।
आज माइतीघर मण्डलामा प्रदर्शनका क्रममा शिक्षकहरुमाथि प्रहरीले बल प्रयोग गरेका थिए । प्रहरीले बल प्रयोग गरि आन्दोलनकारी शिक्षकहरुमाथि दमनको निति लिएको भन्दै सांसद सापकोटाले प्रहरीको दमन गलत भएको टिप्पणी गर्नुभएको हो । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सांसद सापकोटाले शिक्षकहरुको माग सम्बोधन गर्न वार्ता गर्ने पहलकदमी लिनु पर्ने बताउनुभयो ।
स्टाटसमा ‘शान्तिपूर्ण आन्दोलनमा दमन गर्नु गलत कार्य हो।सरकार,शिक्षकहरुका जायज मागहरु वार्ता मर्फत तत्काल हल गर्न पहलकदमी लिन जरुरी छ’ भनिएको छ ।
विद्यालय शिक्षाको विरोधमा आन्दोलनरत राहत शिक्षकहरुले काठमाडौंमा एक हप्ता देखि प्रदर्शन जारी राखेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरुले माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन् । सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरुको माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरुले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् ।
राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् । माइतीघर नयाँबानेश्वर सडकखण्डमा शिक्षकहरुले प्रदर्शन गर्दा केहीबेर सवारी आवागमन समेत प्रभावित हुने गरेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com