काठमाडौँ । सोलुखुम्बुको लुक्लामा तीन महिनादेखि विद्युत प्रभावित हुँदा जनजीवन कष्टकर बनेको छ । पर्यटकीय नगरी लुक्लामा विजुली नभएपछि स्थानीय मात्रै नभई पर्यटकको समेत बसाई नरमाइलो बनेको छ । लुक्ला नजिकै ठाडो खोलाबाट दुई वटा लघुजलविद्युत संचालनमा छ ।
दुई सय किलोवाट र एक सय किलोवाटको विद्युत मध्य एक सय किलोवाट क्षमताको विद्युत आयोजनाका प्रविधिहरु पुरानो भई क्षमतामा ह्रास आई करिव ४० किलोवाट मात्रै विद्युत उत्पादन हुँदै आएको थियो । त्यसैले नयाँ मेसिन जडानका लागि भन्दै विद्युत ठप्प पारी नयाँ मेसिन जडानका लागि धमाधम काम हुँदै थियो । तर तीन महिना देखि मर्मतको काम अलपत्र परेपछि लुक्लाका नागरिक दैनिक लामो समयको लोड सेडिङमा बस्न विवश बनेका हुन् । अहिले खुम्बु क्षेत्रमा पर्यटकहरुको चाप बढेको छ । असोज लागेसंगै पर्यटकहरुको आइरो लागेको छ । तर लुक्लामा विद्युत नहुादा विशेष गरी होटल व्यवसायीहरु मार्कामा परेका छन् ।
समस्या कसरी उत्पन्न भयो त ?
पर्यटकीय सिजनलाई ध्यानमा राखेर खुम्बुपासाङल्हमु गाउँपालिकाले गत असारमा विद्युतीय प्रविधिहरु खरिद गरी लुक्ला ढुवानी गर्दै थियो । सडक मार्गको अभावले विद्युत आयोजनास्थलसम्म उक्त प्रविधिहरु फाप्लुदेखि हेलीकोप्टरमा सिलिङ गरी ढुवानीको तयारी थियो । तर असार २६ गते लुक्लाबाट उडेको मनाङ एयरको हेलीकोप्टर सोलुकै लामजुरामा दुर्घटना भएपछि हेलीकोप्टर उडानमा सिभिल एभियसन क्यानले कडाई गरेको छ ।
मौसम प्रतिकुल भएको मौसममा उडान भर्न रोक लगाएको छ भने हेलीकोप्टरमा सामान झुड्याएर ढुवानी गर्न समेत पूर्ण रोक लगाएको छ । जसको सोझो असर विद्युत आयोजना मर्मतमा पर्याे । ढुवानीका लागि तयारी अवस्थामा फाप्लु पुर्याइएका भारी वजनका प्रविधिहरु अहिले पनि फाप्लुमै छन् । ९ सय केजीसम्मका टर्वाइन् जेनेरेटेरहरु हेलीकोप्टरमा झुण्ड्याएर ढुवानी गर्नुको विकल्प छैन ।
जनप्रतिनिधिहरु के गरिरहेका छन् त ?
लामो समयदेखि विद्युत आपुर्ति प्रभावित भएपछि स्थानीयहरु आक्रोशित र चिन्तीत छन् । पर्यटकीय मौसम सुरु भई पर्यटकहरुको बाक्लो चहलपहल सुरु भइसक्दा पनि विद्युतको टुंगो नभएपछि व्यवसायीहरु चिन्तीत हुनु स्वभाविक हो । जनप्रतिनिधिहरुले चाहीँ ढुवानीका लागि पहल गरिरहेको दावी गरेका छन् ।
काठमाडौँमै भेटिएका खुम्बुपासाङल्हमु गाउँपालिका २ का अध्यक्ष फूर्वा शेर्पाले सुरु देखि नै शिभिल एभियसन क्यानसंग बारम्बार विशेष परिस्थिति बारे जानकारी गराए पनि अट्टेरी गरेको बताएका छन् । करिव ४ फ्लाइटका लागि मात्रै अनुमति दिन अनुरोध गरेपनि आफुहरुको अनुरोधलाई नजरअन्दाज गरेको अध्यक्ष शेर्पाको भनाई छ । उनले भने, ‘क्यानले अनुरोध इन्कार गरेपछि पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीलाई नै भेटेर पहल गर्न लागेका छौँ ।’
केही दिनमा मनसुन अन्त्य हुने र हेलीकोप्टर सिलिङ ढुवानीमा लगाइएको प्रतिवन्ध फुकुवा हुने आसमा जनप्रतिनिधिहरु छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com