भदौ, १ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर ४ करङगैरा डाँडागाउँमा थारथान खोलाबाट लिफ्टीङ गरि खानेपानी ल्याइएको छ ।
बस्ती माथि पानीको मुहान नहुँदा दशकौँदेखि डाँडाँगाउँका स्थानीयले खानेपानीको ठूलो अभाव झेल्दै आएका थिए । ठूलो बजेट लगानी नगरि गाउँमा पानी पुर्याउन पनि असम्भव नै थियो । तर, तीन वर्ष अघि जापान सरकार डाँडागाउँ क्षेत्रका मानिसका लागि हितैषी बनेर आयो । त्यसपछि थारथान खोला करङगैरा डाँडागाउँ कोले लिफ्ट खानेपानी आयोजना सुरु गरियो । पुरै जापान सरकारको आर्थिक सहयोगमा संचालन गरिएको यो योजनाले गाउँका १ सय ३८ घरसहित ५ स्थानमा सार्वजनिक गरि १४३ स्थानमा धारा निर्माण गरिएको छ ।
गाउँदेखि झण्डै एक किलोमिटर तल थारथान खोलाबाट पानीलाई लिफ्टीङ गरि घरघरमा पाइप विस्तार पछि स्थानीयलाई पानीको प्रत्याभूति दिलाइएको छ । पानी आगनमै आइपुगेपछि डाँडागाउँका स्थानीय हर्षित भएका छन् ।
यो योजनाका लागि एक करोड ३० लाख रुपैयाँ खर्च गरिएको छ । निर्धारित समयमै आयोजना सम्पन्न गरि शुक्रबार जापान सरकार, इसाप र पीस विन्ड्सले उपभोक्तालाई हस्तान्तरण गरे । खानेपानी आयोजना पूरा गरि आफ्ना नागरिकलाई सुविधा पुर्याएपछि प्रतिनिधिसभा सदस्य माधव सापकोटाले जापान सरकारलाई धन्यवाद व्यक्त गरे ।
हस्तान्तरण कार्यक्रममा पुगेका नेपालका लागि जापानका राजदुत किकुता युतुकाले उपभोक्ताले नै जिम्मेवारी लिएर खानेपानी व्यवस्थापन गर्न सुझाव दिए ।
कार्यक्रमको सभापतित्व गरेका बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङले लामो समयदेखिको खानेपानी अभावको दुखबाट गाउँका नागरिकले मुक्ति पाएको बताए । उक्त योजनालाई व्यवस्थीत, मर्मत तथा सुधारका लागि गाउँपालिकाले सहयोग गर्ने बताए ।
खानेपानीको लिफ्टीङका लागि विद्युतसमेत नरहेको यस गाउँमा विजुलीको व्यवस्थापन भएपछि खानेपानीको आयोजना सुरु गर्न जापान सरकार तयार भएको थियो । खानेपानी तथा सामान्य सिंचाईका लागि समेत स्थानीयलाई राहत पुगेको छ । जापान सरकारले सिन्धुपाल्चोकको मेलम्ची, सुनकोशी र बलेफीमा गरि ५ सय ८३ घरमा धारा निर्माण गरिसकेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com